सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रममा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनायो ।
भक्तपुर, असोज १५ गते। सिद्धि शालिग्राम ज्येष्ठ नागरिक आश्रमले आश्रमका जेष्ठ सदस्यको प्रमुख आतिथ्यतामा आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएका छन् । ‘दीर्घायुको युग, दीर्घ जीवन प्रणालीमा पुनर्विचारू’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।
सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम सुन्दर धौभडेलको अध्यक्षतामा आयोजित सो समारोहमा आश्रमका सदस्य केदारनाथ पराजुली प्रमुख अतिथि हुनु हुन्थ्यो भने भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्र मान बिजुक्छे, वडा नं= ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व विशेष अतिथिको रूपमा र मिश्रिमाया श्रेष्ठ सहित आश्रमका जेष्ठ सदस्यहरुको उपस्थितिमा अन्तर्राष्ट्रय जेष्ठ नागरिक दिवस मनाएको हो ।
अस्पतालका व्यवस्थापक अनिल राजभण्डारीले स्वागत मन्तव्यका साथै फूलको गुच्छाद्वारा अतिथिहरूलाई स्वागत गर्नुभएको उक्त कार्यक्रमको उद्घाटन संस्थापक अध्यक्ष, प्रमुख अतिथि तथा विशेष अतिथिहरूले संयुक्त रूपमा पानसमा दीप प्रज्ज्वलन गरेर गर्नुभएको थियो।
सो अवसरमा विशेष अतिथिहरुले आश्रमका सदस्यहरुको हात हातमा भक्तपुर नगरपालिकाको तर्फबाट जाडोकालागि न्यानो कपडा तथा खाद्यवस्तुहरु वितरण गर्नु भएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक आश्रमका कर्मचारीहरू निलम जोशी र सुशीसाद्वारा स्वागत नृत्य प्रस्तुत गरिएको थियो भने भरतमणि ज्ञवाली तथा जयन्त उपाध्यायले कविता वाचन गर्नुभएको थियो। साथै जनार्दन कायस्थले भजन गीत प्रस्तुत गर्नुभएको थियो। रीता देशेमरु, कमला सिलाकार, महालक्ष्मी श्रेष्ठ र बिना कोजु लगायतका कर्मचारीहरूको सहभागितामा ‘अन्तिम उपहार’ नामक नाटक प्रस्तुत गरिएको थियो।
सो क्रममा उपस्थित ज्येष्ठ नागरिक तथा प्रतिभाहरूलाई उपहार वितरण गर्नुका साथै वडा अध्यक्षद्वय योगेन्द्र मान बिजुक्छे र रविन्द्र ज्याख्वले शुभकामना मन्तव्य व्यक्त गर्दै नागरिकहरुको जन्म देखि मृत्युसम्म आवश्यक सेवा दिने उदेश्यले काम गर्दै आएको बताउनु भयो । देशमा बाढी पहिरोले दुःख दिइरहेको बेला भक्तपुर नगरपालिकाले जेष्ठ सदस्यहरुकालागि आदर निकेतन सञ्चालनमा ल्याएको उल्लेख गर्दै जेष्ठ नागरिकहरु नयाँ पुस्ताकालागि प्रेरणाका श्रोत भएको बताउनु भयो । जेष्ठ सदस्यहरुलाई आवश्यक सेवा आश्रमबाट पनि भइरहेकोले घरमा बस्नु र आश्रममा रहनुमा फरक नहुने चर्चा गर्दै जेष्ठ नागरिकहरुको सुखद जीवन र दीर्घागुको कामना गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष श्यामसुन्दर धौभडेलले धन्यवाद ज्ञापन गर्दै घरमा जेष्ठ सदस्यलाई हेरचाह गर्ने कोही नहुँदा पनि आश्रममा राख्नु नराम्रो माने समुदायका बीच सिद्धि शालिग्राम आश्रम सञ्चालनमा जन विश्वास बढाउन आफ्नै आमालाई आश्रममा राखेर हेरचाह गरेको स्मरण गर्नु भयो । सिद्धि शालिग्राम जेष्ठ नागरिक आश्रम असाहय जेष्ठ नागरिकलाई आफ्नै घर जस्तै पारिवारिक वातावरणमा आश्रम सञ्चलान भरहेको बताउनु भयो । कार्यक्रमको समापन पश्चात अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा केक काटेर दिवसको खुसीयाली साटासाट गरिएको थियो।














