दसैँ पर्वलाई लक्षित गर्दै ऐतिहासिक ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाको आयोजनामा आउँदै गरेको दसैँ पर्वलाई लक्षित गर्दै भक्तपुर नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक ब्रह्मायणी मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सार्वजनिक स्थलप्रतिको अपनत्व र स्वच्छताको भावना विकास गर्ने उद्देश्यले नगरपालिकाले नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउनुभयो। दसैँका अवसरमा ब्रह्मायणी मन्दिरमा ठूलो संख्यामा भक्तजन आउने तथा विभिन्न दिनमा मेला लाग्ने भएकाले मन्दिर परिसरलाई स्वच्छ र सफा राख्न आजको सरसफाइ कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।


उहाँले धार्मिक तथा सांस्कृतिक स्थलमा पूजा–आराधना गर्न आउने भक्तजनले पूजापाठसँगै वरपरको वातावरण सफा राख्न पनि ध्यान दिनुपर्ने बताउनुभयो। बिहानैदेखि सामूहिक रूपमा गरिएको सरसफाइले सार्वजनिक स्थलप्रति अपनत्व बढाउनुका साथै भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षणमा समेत सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्य एवं ९ नं वडा सदस्य छोरीमैया सुजखुले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै सरसफाइमा सबैको सहभागिता आवश्यक रहेको बताउनुभयो।
भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य, स्वच्छता तथा सार्वजनिक एवं सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिँदै प्रत्येक महिनाको १ र १५ गते विभिन्न ऐतिहासिक तथा धार्मिक स्थल, खुला क्षेत्र, खोला–नाला लगायतका सार्वजनिक स्थानमा नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, नगरपालिका कर्मचारी, विद्यालय तथा कलेजका शिक्षक–विद्यार्थी, विभिन्न संघसंस्था, क्लब तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।