च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास
भक्तपुर। भक्तपुरको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र पुनःनिर्माणलाई निरन्तरता दिँदै च्वङा गणेश घ्योछे पुनःनिर्माण कार्यको शिलान्यास गरिएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज आयोजित एक समारोहबीच पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा स्थानीय समुदाय, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले स्थानीय कला, संस्कृति, परम्परा र पहिचानको जगेर्ना गर्न महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए। सम्पदाको पुनःनिर्माणले स्थानीय समुदायको धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो।


स्थानीय समुदायको सहभागिता र सहयोगमा अघि बढाइएको पुनःनिर्माण कार्यले नेवार समुदायको मौलिक कला, वास्तुकला तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताका लागि ऐतिहासिक धरोहर सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्थानीय वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा च्वङा गणेशको धार्मिक तथा सांस्कृतिक महत्वबारे समेत चर्चा गरिएको थियो।
नेवार समुदायमा हरेक शुभकार्य तथा भोज आयोजना गर्दा च्वङा गणेशको विशेष पूजा गर्ने परम्परा रहिआएको छ। यस धार्मिक परम्पराले च्वङा गणेशलाई नेवार समुदायको सांस्कृतिक तथा धार्मिक जीवनसँग अभिन्न रूपमा जोडेको छ।













