खेलकुद देश र जनताको सेवाका लागि आवश्यक : अध्यक्ष बिजुक्छेँ

खेलकुद देश र जनताको सेवाका लागि आवश्यक : अध्यक्ष बिजुक्छेँ

भक्तपुर, २०८३ मंसिर ३ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले खेलकुद स्वस्थ शरीर र अनुशासनका लागि मात्र नभई देश र जनताको सेवाका लागि पनि उत्तिकै आवश्यक रहेको बताउनुभएको छ ।

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारबाट सुरु भएको ‘भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८३’ को उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले युवा तथा विद्यार्थी अवस्थामै शरीरलाई स्वस्थ राख्न सके असल र सक्षम नागरिक तयार गर्न सकिने धारणा राख्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै उहाँले खेलकुदले बाह्य आक्रमणको विरोधमा लड्न सक्ने शारीरिक तथा मानसिक क्षमता विकास गर्न मद्दत पुर्‍याउने उल्लेख गर्नुभयो । देशमा संकट परेको अवस्थामा सामना गर्न सधैँ तयार रहनुपर्नेमा जोड दिँदै बिजुक्छेँले भन्नुभयो, “खेलकुदमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो लागि मात्र नभई देश र जनताको निम्ति खेल्ने भावना विकास गर्नुपर्छ ।”

कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचन घोषणापत्रमा उल्लेखित प्रतिबद्धताहरू पूरा गर्ने क्रममा नगरपालिकाले खेलकुद पूर्वाधार निर्माण र नियमित प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यस्तै, बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुदमा अनुशासन अपरिहार्य रहेको बताउँदै आइतबार दिइने सार्वजनिक बिदाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पारेको नकारात्मक असरबारे पुनरावलोकन हुनुपर्ने धारणा राख्नुभयो ।

उद्घाटन समारोहमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्का, प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्र, वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व तथा जिल्ला भलिबल संघका अध्यक्ष विनोदचरण रायले खेलकुदले विद्यार्थीको चौतर्फी विकास र अनुशासनमा पुर्‍याउने योगदानबारे चर्चा गर्नुभएको थियो ।

दत्तात्रयबाट सुरु भएको उद्घाटन र्‍याली नगरका विभिन्न भागको परिक्रमा गर्दै सहिद स्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो । समारोहमा ताई ची र जिम्न्यास्टिक प्रदर्शनका साथै खेलाडीका तर्फबाट अभिषेक तामाङ र निर्णायकका तर्फबाट रेफ्री गणेशराम ग्वाछाले शपथग्रहण गर्नुभएको थियो ।

कुल ८४ विद्यालयका ३ हजार २ सयभन्दा बढी विद्यार्थी सहभागी यस प्रतियोगितामा टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, जिम्नास्टिक, पोर्टबल, बाघचाल र परम्परागत खेल कसिमला पाँय गरी १५ विधामा प्रतिस्पर्धा हुनेछ ।