भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल प्रतियोगिता सम्पन्न
भक्तपुर। भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न भएको छ।
भक्तपुर नगरपालिका वडा नं. ६ कार्यालयको प्राङ्गणमा आयोजित प्रतियोगिताका विजयी खेलाडीहरूलाई आजै एक समारोहबीच भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालसहित स्थानीय जनप्रतिनिधिहरूले पुरस्कार वितरण गरेका छन्।
मंसिर ९ गते समग्र प्रतियोगिताका विजेता खेलाडीहरूलाई पुरस्कृत गर्नुका साथै विद्यालयहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहे पनि विषयगत रूपमा सम्पन्न प्रतियोगिताका विजयी खेलाडीहरूलाई प्रतियोगितास्थलबाटै पुरस्कृत गरिएको हो।

यसअघि नासमनामा आयोजित उसु प्रतियोगिता तथा दत्तात्रय मन्दिर परिसरमा आयोजित कराँते प्रतियोगिता सम्पन्न भइसकेका छन्। ती प्रतियोगिताका विजयी खेलाडीहरूलाई समेत पुरस्कृत गरिसकिएको आयोजकले जनाएको छ। प्रतियोगिताअन्तर्गत अन्य खेलहरू भने सञ्चालन भइरहेका छन्।
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित यस नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा फुटबल, पोर्टबललगायत १५ विधाका खेलहरू समावेश गरिएका छन्। प्रतियोगितामा भक्तपुर नगरपालिकाभित्रका ८४ विद्यालयका ३ हजार २५१ जना छात्र तथा छात्रा खेलाडीहरूको सहभागिता रहेको छ।
विद्यालयस्तरदेखि नै खेलकुदको विकास, विद्यार्थीहरूमा खेल भावना, अनुशासन, स्वस्थ प्रतिस्पर्धा र प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।














