दिपेन्द्र सिंह ऐरी एशियन ब्याट्रिका ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक
नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । यस अवसरमा कम्पनीले ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष कार्यक्रममा देशभरका ४०० भन्दा बढी डिलर, रिटेलर तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई कम्पनीले आफ्नो ब्राण्ड विस्तार र नयाँ रणनीतिक यात्राको महत्वपूर्ण चरणका रूपमा प्रस्तुत गरेको थियो ।


कम्पनीका अनुसार ‘भोल्टेक्स’ सिरिज आफ्ना सम्पूर्ण उत्पादनमा एकरूपता कायम गर्ने, ब्राण्डिङलाई थप सशक्त बनाउने तथा गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ बजारमा ल्याइएको हो । आधुनिक प्रविधि, टिकाउपन र उत्कृष्ट प्रदर्शनलाई प्राथमिकतामा राखेर उत्पादन गरिएको यो सिरिजले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै क्रिकेटर दिपेन्द्र सिंह ऐरीले एशियन ब्याट्रीजस्तो गुणस्तरीय नेपाली ब्राण्डसँग सहकार्य गर्न पाउँदा आफू गौरवान्वित भएको बताए । उनले नेपाली उत्पादनप्रतिको उपभोक्ताको विश्वास दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै एशियन ब्याट्रीले उद्योग क्षेत्रमा स्थापित गरेको पहिचान प्रशंसनीय रहेको बताए ।
कार्यक्रमका क्रममा कम्पनीको ब्राण्ड विकास, बजार विस्तार तथा बिक्री प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न रिटेलर तथा डिष्ट्रिब्युटरलाई विशेष अवार्ड तथा सम्मान प्रदान गरिएको थियो । कम्पनीले आफ्ना व्यावसायिक साझेदारहरूको योगदानलाई सफलता पछाडिको मुख्य आधारका रूपमा व्याख्या गरेको थियो ।
कम्पनीका चेयरमेन सुरेश लोहनीले नेपाली अटोमोबाइल क्षेत्रमा एशियन ब्याट्रीले उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए । गुणस्तर, विश्वसनीयता तथा बिक्रीपछिको सेवाप्रतिको दृढ प्रतिबद्धताकै कारण कम्पनीले बजारमा सफलता हासिल गरेको उनको भनाइ थियो । उनले अटोमोटिभ क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्दै कम्पनीले निरन्तर नवीन प्रविधिमा आधारित उत्पादनहरू ल्याउने योजना रहेको जानकारी दिए ।
एशियन ब्याट्रीले बजाज, हिरो, सेभ्रोले, फोर्ड, होण्डा र इसुजुजस्ता अन्तर्राष्ट्रिय अटोमोटिभ ब्राण्डलाई आफ्ना उत्पादन उपलब्ध गराउँदै आएको जनाएको छ । विराटनगरस्थित उत्पादन केन्द्र र काठमाडौंस्थित कर्पोरेट कार्यालयमार्फत कम्पनीले अन्तर्राष्ट्रिय स्तरको उत्पादन प्रणाली अपनाएर काम गर्दै आएको छ ।
कम्पनीका अनुसार प्रत्येक ब्याट्रीलाई बजारमा ल्याउनुअघि कडा परीक्षण प्रक्रियाबाट गुजारिने भएकाले उत्पादन टिकाउ, भरपर्दो र उच्च प्रदर्शनयुक्त हुने गरेका छन् । साथै, देशभर फैलिएको सेवा सञ्जालमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग समेत प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।
स्वदेशी उद्योगको रूपमा सुरु भएको एशियन ब्याट्रिजले अहिले अन्तर्राष्ट्रिय बजारतर्फ समेत आफ्नो उपस्थिति विस्तार गरिरहेको छ । “मेड इन नेपाल” उत्पादनलाई विश्व बजारसम्म पुर्याउने लक्ष्यसहित कम्पनीले आफ्नो पहिचानलाई थप बलियो बनाउँदै लगेको जनाएको छ ।













