भक्तपुर उद्योग वाणिज्य संघद्वारा सम्मान तथा बधाई कार्यक्रमको आयोजना
३१ असार २०७९, भक्तपुर ।
मध्यपुर ठिमी तथा चाँगु नारायण नगरपालिकाका प्रमुख एवं उप प्रमुखको सम्मानमा भक्तपुर उद्योग वाणिज्य संघले एक सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरेको छ । उक्त अवसरमा संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले मध्यपुर ठिमी नगरपालिकाका प्रमुख श्री सुरेन्द्र श्रेष्ठ तथा उप प्रमुख श्री विजय कृष्ण श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख श्री जीवन खत्रीलाई स्वागत तथा सम्मान गर्नु भएको थियो ।
स्वागत मन्तव्य दिँदै अध्यक्ष श्री शिव प्रसाद मानन्धरले भक्तपुर जिल्लाको आर्थिक समृद्धिको लागि स्थानीय निकाय र निजी क्षेत्रले हातेमालो गर्दै अघि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । विगत ५५ वर्ष देखि जिल्लाको उद्योग व्यवसायको विकास एवं प्रबद्र्धनका लागि क्रियाशील संघले कृषि, हस्तकला र पर्यटनको क्षेत्रको विकासका लागि सहकार्य गर्न दुवै नगरपालिकाहरुको सहयोगको लागि आव्हान गर्नु भयो ।
मध्यपुर ठिमी नगरपालिकाका प्रमुख श्री सुरेन्द्र श्रेष्ठले पर्यटनको विकासका लागि आफ्नो नगरपालिकामा पनि ठोस कार्य योजना तयार गर्न लागेको बताउँदै आगामी दिनहरुमा उद्योग वाणिज्य संघ संग सहकार्य गर्दै अघि बढ्न सकिने बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख श्री जीवन खत्रीले आफू पनि नगर तथा यहाँका जनताहरुको समृद्धि र विकासको लागि प्रयत्नशील रहेको हुनाले लामो इतिहास बोकेको भक्तपुर उद्योग वाणिज्य संघ संग मिलेर नगरको उद्योग व्यवसायको हितमा काम गर्न इच्छुक रहेको विचार व्यक्त गर्नु भयो ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष श्री रोशनी मैयाँ धौबञ्जा र उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपानेले पनि जिल्लाको आर्थिक विकासमा नगरपालिका र संघबीच सहकार्य गर्न सकिने विषयमा विचार राख्नु भएको थियो ।
![]()













