इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित

इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित

भक्तपुर

इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका वरिष्ठ इतिहासविद् एवं संस्कृतिविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ कदर पत्रद्वारा सम्मानित हुनुभएको छ। रेडियो जनसञ्चार १०७.९ मेगाहर्ज एवं जनसञ्चार टेलिभिजनका तर्फबाट उहाँलाई उच्च सम्मान व्यक्त गर्दै सो सम्मान प्रदान गरिएको हो।

भक्तपुरमा स्वतन्त्र पत्रकार संघ भक्तपुरद्वारा आयोजित “दशैं के हो? कसरी मनाउने?” विषयक अन्तरक्रिया कार्यक्रमको अवसरमा उहाँलाई उक्त सम्मान पत्र हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा जनसञ्चार टेलिभिजनका स्टेशन म्यानेजर सुरेशप्रसाद सैंजूले कदर पत्रमा उल्लेखित व्यहोरा पढेर सुनाउँदै इतिहास, संस्कृति र पुरातात्त्विक खोजका क्षेत्रमा डा. श्रेष्ठले पुर्‍याउनुभएको विशिष्ट र अनुकरणीय योगदानप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

कदर पत्रमा नेपालका साथै विशेष गरी भक्तपुर र देशका विभिन्न ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्त्वका ओझेलमा परेका, लोपोन्मुख एवं मृत तथा अमृत सम्पदाहरूको अध्ययन, अनुसन्धान, खोज र पहिचानमा उहाँले खेल्नुभएको निष्ठापूर्ण र निरन्तर योगदानको उच्च प्रशंसा गरिएको छ।

गत असोज ६ गते भक्तपुरको ताथलीमा आयोजित वृहत् वृक्षारोपण तथा चट्टान अभिलेखको प्रचारप्रसारका क्रममा डा. श्रेष्ठले पुर्‍याउनुभएको महत्त्वपूर्ण योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो। सामाजिक अभियान्ता प्रेमध्वज लामाको संयोजनमा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको थियो।