चाडवाडको सुरक्षा: खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्न नेपाल प्रहरीको अनुरोध 

चाडवाडको सुरक्षा: खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्न नेपाल प्रहरीको अनुरोध

काठमाडौँ, ७ असोज (रासस) ः विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउनुहुन्छ । उहाँका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ । प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो । प्रहरीले रातको समयमा आफ्नो घर टोलमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्ने÷खेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेको छ । लागूऔषध, नशालु पदार्थ सेवन, बेचविखन गर्ने कोही व्यक्ति भएमा सूचना दिन भनिएको छ । प्रहरीले मदिरा पिएर सवारी नचलाउन, छतमा चढेर यात्रा नगर्न, जथाभावी पार्किङ नगर्न पनि आग्रह गरेको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र कसैलाई पनि झट्ट विश्वास नगर्न पनि भनेको छ । रातको समयमा कसैले ढोका ढकढकाएमा पहिचान नभई नखोल्न, आफ्नो टोल छिमेकमा बत्तीको व्यवस्थापन गरी सम्भव भए आपतकालीन साइरन राख्न पनि सुझाव दिएको छ । बंैँक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा सुरक्षित रुपमा विश्वासिलो व्यक्तिका साथ जान आग्रह गर्दै खतरा महसुस भएमा प्रहरीमा खबर गर्न अनुरोध गरिएको छ । सार्वजनिक स्थानमा सुनका गरगहना लगाएर र धेरै पैसा बोकेर नहिड्न पनि अपिल गरेको छ । धम्कीपूर्ण फोन आएमा मिलेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीमा खबर गर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।