सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
भक्तपुर, ३० असोज।
सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० (चित्तपोल) ले चुमेको छ।
चित्तपोलस्थित संकटा खेल मैदानमा शुक्रबार सम्पन्न प्रतिष्पर्धात्मक फाइनल भिडन्तमा वडा नं. ९ (नंखेल) लाई ३–१ गोल अन्तरले पराजित गर्दै आयोजक वडा नं. १० ले च्याम्पियन ट्रफी उचालेको हो।
उपाधिसँगै विजेता वडा नं. १० ले नगद रु. १ लाख, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको वडा नं. ९ ले नगद रु. ५० हजार, ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझायो।
यस्तै, शुक्रबार नै भएको तेस्रो स्थानको प्रतिस्पर्धामा वडा नं. ४ (दधिकोट) ले वडा नं. ८ (सिपाडोल) लाई ४–१ गोलको फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान सुरक्षित गर्यो। तेस्रो भएको वडा नं. ४ ले नगद रु. २५ हजार प्राप्त गर्दा चौथो स्थानमा सीमित बनेको वडा नं. ८ ले नगद रु. १० हजार, पदक र प्रमाणपत्र हात पार्यो।
विजेता तथा उपविजेता टिम र खेलाडीहरूलाई सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले पुरस्कार वितरण गर्नुभएको थियो।

विधागत उत्कृष्ट खेलाडीहरू:
- उत्कृष्ट खेलाडी: युथ देउजा (वडा नं. १०) – नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र
- उत्कृष्ट गोलरक्षक: अस्मित देउजा (वडा नं. १०) – नगद रु. ५ हजार, ट्रफी र प्रमाणपत्र
- सर्वाधिक गोलकर्ता (८ गोल): रोजित खत्री (वडा नं. १०) – नगद रु. ५ हजार, ट्रफी र प्रमाणपत्र
- उत्कृष्ट प्रशिक्षक: दिपेश खत्री (वडा नं. ९) – नगद रु. ५ हजार, ट्रफी र प्रमाणपत्र
सूर्यविनायकलाई ‘स्पोर्ट्स हब’ बनाउने घोषणा
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिकालाई खेलकुदको उत्कृष्ट केन्द्र (हब) को रूपमा विकास गर्ने नगरको कार्ययोजना रहेको बताउनुभयो।
“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सक्ने खेलाडी उत्पादन गर्न तल्लो तहबाटै ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेका छौँ,” नगरप्रमुख थापाले भन्नुभयो, “खेलकुद विकासका लागि नगरपालिकाले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अब हरेक महिना फरक–फरक खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ।”
भौतिक विकाससँगै मानवीय र खेलकुद विकासलाई प्राथमिकता दिएको बताउँदै उहाँले तिहारलगत्तै नंखेलमा ५० रोपनी जग्गामा रंगशाला निर्माण गर्न ४ करोड रुपैयाँ विनियोजन गरिएको र चालू आर्थिक वर्षभित्रै प्रत्येक वडामा एक–एक वटा खेल मैदान निर्माण गरिने जानकारी दिनुभयो।
असार २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नगरपालिकाका १ देखि १० वटै वडाका टिमहरूको सहभागिता रहेको कार्यक्रमका सभापति एवं खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो।














