देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
भक्तपुर।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना’ (Deko Miba Itapake Land Pooling Project) भित्रका उपभोक्ताहरूको गुनासो तथा जायज मागहरूलाई सम्बोधन गर्न आयोजना व्यवस्थापन उपसमितिले विभिन्न निर्णयहरू गर्दै महत्त्वपूर्ण सूचना प्रकाशित गरेको छ।
आयोजनाले हालसम्म जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) फिर्ता लिन बाँकी रहेका कित्ताहरूको हकमा सुधार तथा स्पष्टता कायम गर्न यो सूचना जारी गरिएको जनाएको छ।
सूचनाका मुख्य बुँदाहरू यस प्रकार रहेका छन्:
- अतिरिक्त जग्गाको मूल्याङ्कन: नगरकोट सडकसँग जोडिएका घर/जग्गा कित्ताको हकमा १८ मिटरभन्दा बढी गहिराइमा जग्गा थप गरिएको र पछाडि सहायक सडक जोडिएको भए सोही सहायक सडकको आधारमा अतिरिक्त जग्गाको मूल्याङ्कन गरिनेछ। पछाडि सहायक सडक नजोडिएको कित्ताको हकमा ७ मिटरको सडकलाई आधार मानिनेछ। साथै, दायाँ वा बायाँ सडक जोडिएको हकमा त्यसलाई पनि सहायक सडक मानी मूल्याङ्कन गरिनेछ।
- घरधनीहरूलाई कूल ३० प्रतिशत छुट: आयोजना सुरु हुनुपूर्व घर निर्माण गरी स्वीकृत नापी नक्सामा घर जनिएका कित्ताहरूमा थप जग्गाबापत पूर्वघोषित २० प्रतिशत छुटमा थप १० प्रतिशत थप गरी कूल ३० प्रतिशत छुट सुविधा प्रदान गरिने भएको छ।
- छुट सुविधाको समयावधि: उक्त थप छुट सुविधा प्राप्त गर्न घरधनीहरूले २०८३ माघ मसान्तभित्र आयोजनाको नियमानुसार एकमुष्ट वा तीन किस्तामा भुक्तानी गरिसक्नुपर्नेछ। दोहोरो सुविधा हुने कित्ताको हकमा फिल्ड निरीक्षण गरी जुन सुविधा बढी हुन्छ, सोही प्रदान गरिनेछ।
- पूर्वाधार योगदान कटौती सुधार: नगरकोट सडकमा जोडिएका कित्ताहरूमा पूर्वाधारबापत योगदान कटौती नगरिने तर प्राविधिक कारणले कसैको योगदान कटौती भएको देखिएमा सो सुधार गरिनेछ।
- साविकबमोजिम नै घर निर्माण गर्न पाइने: आयोजनापूर्व नगरपालिकाको नियमानुसार नक्सा पास गरी बनाइएका घरहरूको क्षेत्रफल नयाँ कित्ता प्राप्त गर्दा कम हुन गएमा र निजलाई अन्य ठाउँमा थप जग्गा प्रदान नगरिएका कित्ताहरूमा साविकबमोजिम नै घर निर्माण गर्न सुविधा दिइनेछ।
- घर लाइन (Building Line) सुविधा: आयोजनाअन्तर्गतका भित्री सडकहरूमा घर लाइन दिन सकिने कित्ता र क्षेत्रहरूको पहिचान गरी नयाँ घर निर्माण गर्दा घर लाइनको सुविधाका लागि आयोजनामार्फत नगरपालिकामा अनुरोध गरिनेछ।














