सूर्यविनायकमा सीमान्तकृत महिलाको मुहार फेर्दै ुकम्युनिटी वर्किङु को परियोजनास् आयआर्जन र अधिकारमा पहुँच बढेको प्रतिवेदन सार्वजनिक
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा सीमान्तकृत महिला र बालबालिकाको सशक्तीकरण, आर्थिक आत्मनिर्भरता तथा न्यायमा पहुँच अभिवृद्धिका लागि सञ्चालित विशेष परियोजनाले स्थानीय तहमा सकारात्मक परिवर्तन ल्याएको छ।
कम्युनिटी वर्किङ एन्ड डेभलपमेन्ट सेन्टर (CWAD) ले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको उक्त परियोजनाको असोज २३ गते प्रस्तुत सामाजिक लेखापरीक्षण प्रतिवेदनले महिलाहरूको अधिकारप्रतिको चेतना, आत्मविश्वास र नेतृत्व क्षमतामा उल्लेख्य सुधार आएको देखाएको छ।
लक्ष्यभन्दा बढी सहभागिता, उत्पादन र शैक्षिक सहयोग
प्रतिवेदनअनुसार परियोजनाका विभिन्न कार्यक्रमहरूमा तोकिएको लक्ष्यभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको छ:
- सशक्तीकरण र नेतृत्व विकास: ३१८ जनाको लक्ष्य राखिएकामा ३४८ जना महिला तथा बालबालिकाले सहभागिता जनाएका छन्।
- सुशासन र नीतिगत पैरवी: १२० जनाको लक्ष्य रहेकामा १३७ जनासम्म पहुँच पुगेको छ।
- आर्थिक सशक्तीकरण र शिक्षा: २५० जनाको लक्ष्य रहेकामा १९३ जनाले प्रत्यक्ष सहयोग पाएका छन्। यसअन्तर्गत १५ वटा साना व्यवसायलाई सहयोग र ४५ जना जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विशेष गरी सूर्यविनायक नगरपालिका वडा नं. ६ मा महिलाहरूको आर्थिक अवस्था सुदृढ बनाउन धूपबत्ती उत्पादन, कपडा ब्रान्डिङ र क्याटरिङ सेवालगायतका व्यवसायमा कुल रू. ४ लाख ६९ हजार ९७४ खर्च गरिएको छ।
‘आफ्नै कमाइले आत्मविश्वास र सम्मान बढायो’
परियोजनाबाट लाभान्वित महिलाहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको दैनिक खर्च चलाउन, बचत गर्न र निर्णय प्रक्रियामा आफ्ना धारणा राख्न सजिलो भएको छ। सामूहिक रूपमा काम गर्दा सीपसँगै सामाजिक पहिचानसमेत अभिवृद्धि भएको उनीहरूको भनाइ छ।
साथै, परियोजनाले कानुनी सचेतना, व्यक्तिगत घटना दर्ता, लैङ्गिक हिंसा प्रभावितलाई सहजीकरण र स्थानीय न्यायिक समिति तथा प्रहरीसँग समन्वय गरी सिफारिस प्रणालीलाई व्यवस्थित बनाएको छ।
स्थानीय जनप्रतिनिधिको प्रशंसा र सुझाव
- सरिता तिम्सिना (भट्टराई), उपप्रमुख (सूर्यविनायक नगरपालिका):
“महिला सशक्तीकरण र आर्थिक गतिविधिमा CWAD ले महत्त्वपूर्ण सहयोग पुर्याएको छ। आगामी दिनमा महिलाहरूको वित्तीय ज्ञान, बचत, संस्थागत व्यवस्थापन र व्यवसाय सञ्चालन क्षमतालाई थप सुदृढ बनाउन आवश्यक छ।“
चुनौती र आगामी बाटो
सामाजिक लेखापरीक्षण प्रतिवेदनले परियोजना सफल भए पनि उत्पादित सामग्रीको बजारीकरण, ब्रान्डिङ, डिजिटल मार्केटिङ तथा वित्तीय व्यवस्थापन अझै चुनौतीका रूपमा रहेको औँल्याएको छ। साथै, अस्थायी रूपमा बसोबास गर्ने महिला तथा बालबालिकासम्म निरन्तर पहुँच कायम राख्नु अर्को चुनौती रहेको छ।
लेखापरीक्षकहरूले उत्पादित वस्तुको बिक्रीका लागि स्थानीय तहको नेतृत्वमा दिगो बजार संयन्त्र बनाउन, स्थानीय सरकारको लगानी बढाउन र बालविवाह, लागुऔषध दुरुपयोग तथा बाल संरक्षणसम्बन्धी सचेतनालाई निरन्तरता दिन सिफारिस गरेका छन्।














