भक्तपुर नगरपालिकाद्वारा सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप अभियान तीव्र
भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरूको सङ्ख्या नियन्त्रण तथा रेबिज रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ।
नगरपालिकाको आयोजनामा विभिन्न वडाहरूबाट सङ्कलन गरिएका सामुदायिक कुकुरहरूलाई नगर पशु सेवा केन्द्रमार्फत नियन्त्रणमा लिई बन्ध्याकरण गर्ने र रेविज विरुद्धको खोप लगाउने कार्य भइरहेको छ। अभियान अन्तर्गत शुक्रबार भक्तपुर नगरपालिका वडा नं. १० का ७४ वटा सामुदायिक कुकुरहरूलाई बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाइएको थियो भने आज (शनिबार) वडा नं. ५ का विभिन्न क्षेत्रबाट सङ्कलन गरिएका कुकुरहरूलाई सो सेवा प्रदान गरिएको छ। कुकुर, विरोलोलाई सामुदायिक भनिए पनि समाजबाट टाढा रहेका वा घुलमिल नभएका ति पशुहरुले मानिसलाई दुःख दिने गरेको गुनासो बढेपछि नियन्त्रण कार्यलाई तिव्रता दिएको पशु सेवा केन्द्रले जनाएको छ । विगतमा वर्षको एक पटक मात्र यो अभियान सञ्चालन हुँदै आएको भएपनि यस वर्ष पटक पटक गरी कुकुर र विरालो नियन्त्रणका प्रयास गरेको छ ।

नगर पशु सेवा अधिकृत पार्वती तामाङका अनुसार नियन्त्रणमा लिइएका कुकुरहरूलाई बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाएपछि पहिचानका लागि कानमा विशेष चिन्ह लगाएर तीन दिनभित्र पुनः सम्बन्धित क्षेत्रमै छोड्ने व्यवस्था मिलाइएको छ।
यसैबीच, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समुदायमा छरिएर रहेका कुकुरहरूलाई कानुनतः मार्न नमिल्ने भएकाले तिनीहरूबाट फैलिन सक्ने विकृति, टोकाइको त्रास र रोगको सङ्क्रमण कम गर्न नगरपालिकाले सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिनुभयो।















