भक्तपुर नगरपालिकाद्वारा ‘ग्राउन्ड जेरो’ को दाबीप्रति खण्डन, बेरुजु र अनियमिततासम्बन्धी भ्रम स्पष्ट

भक्तपुर नगरपालिकाद्वारा ‘ग्राउन्ड जेरो’ को दाबीप्रति खण्डन, बेरुजु र अनियमिततासम्बन्धी भ्रम स्पष्ट

भक्तपुर — ‘Ground Zero’ नामक सामाजिक सञ्जाल पेजमार्फत भक्तपुर नगरपालिकामा रू. ३ करोड ९ लाख ११ हजार अनियमितता भएको र रू. ४ करोड ६० लाख खर्चको प्रमाण नपुगेको भनी प्रसारित खबर निराधार रहेको भन्दै भक्तपुर नगरपालिकाले ध्यानाकर्षण गराएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालमा फैलाइएको भ्रमलाई चिर्दै वास्तविक वस्तुस्थिति स्पष्ट पारिएको छ।

विज्ञप्तिमा उल्लेखित मुख्य विवरणहरू यस प्रकार छन्:

  • उपदान भुक्तानी कानुनबमोजिम भएको: सेवानिवृत्त ९ जना कर्मचारीलाई उपदान दिँदा स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा कर्मचारी प्रशासन नियमावली, २०६५ अनुसार करार र अस्थायी सेवा अवधि जोडेर भुक्तानी गरिएको हो। निजामती सेवा ऐन, २०४९ को दफा ५८ बमोजिम सेवा शर्तमा प्रतिकूल असर पर्न नदिने कानुनी प्रावधान पालन गरिएको र उक्त बेरुजु २०औँ नगर सभाबाट कानुनबमोजिम नियमित भइसकेको छ।
  • आन्तरिक स्रोतबाट भत्ता तथा सुविधा: सञ्चित घर विदा, कर्मचारी विशेष सुविधा र प्रोत्साहन भत्ता तत्कालीन स्थानीय स्वायत्त शासन ऐन, २०५५ को दफा २५० (३) तथा स्थानीय सेवा ऐन, २०८० अनुसार नगरपालिकाको आफ्नै आन्तरिक स्रोतबाट भुक्तानी गरिएको हो। यसमा कुनै किसिमको अनियमितता भएको छैन।
  • अतिरिक्त समयको कार्य र प्रोत्साहन भत्ता: प्रमुख प्रशासकीय अधिकृत तथा चालकहरूलाई कार्यालय समयबाहेक बिहान, साँझ र रातिसमेत कार्यमा खटाउनुपर्ने भएकाले आवश्यक कानुन निर्माण गरी नियमानुसार नै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो।
  • स्वकीय सचिवको पद मिलान: आव २०८२/८३ को ओ एण्ड एम (O&M) सर्वेक्षण प्रतिवेदन १९औँ नगर सभाबाट स्वीकृत गरी स्वकीय सचिव पद खारेज तथा पद मिलान भइसकेकाले सो विषय नियमित भइसकेको छ।
  • अन्य भत्ताको निर्णय कायम: २०६९/१०/१७ को कार्य सञ्चालन समितिको निर्णय प्रचलित कानुन र नगरपालिकाको अधिकारक्षेत्रभित्र रही भएको र सो निर्णय हालसम्म खारेज वा संशोधन नभएकाले सोहीअनुसार भुक्तानी भइरहेको छ।
  • प्रमाण कागजात सङ्कलन भइसकेको: प्रमाण कागजात पेस नभएको भनिएको रू. ४,५०,५७,९२१ मध्ये लेखा समितिको प्रतिवेदन अनुसार २०८३ असार मसान्तसम्ममा रू. ४,५७,९३,९३० को प्रमाण कागजात सङ्कलन भइसकेकाले सो बेरुजुसमेत नियमित भइसकेको छ।

नगरपालिकाले सामाजिक सञ्जालमा आउने यस्ता अपुष्ट र भ्रामक समाचारको भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।