दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बक्सिङ प्रतियोगिता सुरु
सुर्खेत, कर्णाली प्रदेश।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बक्सिङ प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा भव्य रूपमा सुरु भएको छ। देशभरका १० वटा टिमको प्रतिनिधित्व गर्दै कुल १६१ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका छन्।
प्रतियोगितामा ९१ जना पुरुष र ७० जना महिला गरी जम्मा १६१ जना खेलाडी प्रतिस्पर्धामा उत्रिएका छन्। महिला तथा पुरुष दुवैतर्फ खेलाडीहरूको उत्साहजनक सहभागिताले नेपालमा बक्सिङ खेलप्रतिको आकर्षण र विकास हुँदै गएको स्पष्ट देखाएको छ।
प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न खेल सुरु हुनुअघि विभिन्न प्रदेश तथा विभागीय टिमका प्रशिक्षक र टिम व्यवस्थापकहरूसँग समन्वयात्मक बैठक सम्पन्न गरिएको थियो। साथै, प्रतियोगितामा निष्पक्ष निर्णय तथा नियमहरूको एकरूपता कायम गर्न रेफ्री तथा जजहरूलाई समेत आवश्यक प्राविधिक जानकारी र निर्देशन प्रदान गरिएको थियो।
प्रतियोगिताको पहिलो दिन कुल ३४ वटा बाउट सञ्चालन भएका छन्। जसमा १३ वटा प्रारम्भिक चरणका बाउट र २१ वटा क्वार्टरफाइनल चरणका बाउट रहेका छन्। खेलाडीहरूले आफ्नो क्षमता, शक्ति, गति, कौशल, प्राविधिक दक्षता र खेलभावना प्रदर्शन गर्दै आगामी चरणमा प्रवेश तथा आफ्नो टिमका लागि पदक जित्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका छन्।
देशका विभिन्न प्रदेश तथा विभागीय टिमका प्रतिभाशाली खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाएको छ। यस प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नुका साथै नयाँ प्रतिभाको पहिचान, खेलकुदको प्रवर्द्धन र नेपालमा बक्सिङ खेलको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कर्णाली प्रदेशको आतिथ्यतामा सञ्चालन भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बक्सिङ प्रतियोगिताका आगामी दिनहरूमा पनि विभिन्न तौल समूहका प्रतिस्पर्धाहरू निरन्तर सञ्चालन हुनेछन्। खेलाडीहरू पदक प्राप्तिका लागि प्रतिस्पर्धा गर्दै राष्ट्रिय गौरव हासिल गर्ने लक्ष्यमा अघि बढिरहेका छन्।
नेपाल बक्सिङ महासंघको आधिकारिक प्रतिनिधि टोली
राष्ट्रिय प्रतियोगिताभर बक्सिङ खेलको प्राविधिक व्यवस्थापन, समन्वय तथा सञ्चालनलाई प्रभावकारी बनाउन नेपाल बक्सिङ महासंघले महासंघको प्रतिनिधित्व गर्दै तीन सदस्यीय आधिकारिक प्रतिनिधि टोली मनोनयन गरेको छ।
१. मानबहादुर भण्डारी – महासचिव (संयोजक)
२. गौतम सुजखु – कोषाध्यक्ष (व्यवस्थापन संयोजक)
३. शोभा जंग के.सी. – उपाध्यक्ष (सदस्य)
यसैगरी, बागमती प्रदेश बक्सिङ संघका सचिव रामकृष्ण प्रजापति पनि प्रतियोगितामा सहभागी भई बक्सिङ खेलको विकास, समन्वय तथा व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहनुभएको छ।
नेपालमा बक्सिङ खेलको स्तर अभिवृद्धि, खेलाडीहरूको क्षमता विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नेपाली बक्सिङको पहिचान स्थापित गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
नेपाल बक्सिङ महासंघ
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३
सुर्खेत, कर्णाली प्रदेश।














