प्रेम र समर्पणको कथा बोकेको ‘तिम्रै साथ’ले पायो दर्शकको साथ
काठमाडौं, २३ असोज । उच्च अदालतका पूर्वन्यायाधीश एवं गीतकार भीमकुमार ओझाको शब्दमा तयार भएको गीत ‘तिम्रै साथ’ सार्वजनिक भएको छ। प्रेम, आत्मीयता, जीवनसाथीको महत्त्व र जीवनका अनुभूतिहरूलाई समेटिएको यस गीतले भिडियो सार्वजनिक भएको दिनमै एक मिलियन भ्युज पार गरेको निर्माण पक्षले जनाएको छ।
गीतकार ओझाले आफ्नै जीवनका अनुभूति, सम्बन्धको आत्मीयता र साथको महत्त्वलाई गीतका शब्दमार्फत प्रस्तुत गर्नुभएको छ। गीतमा ओझाको जीवनभोगाइ, प्रेम, विश्वास र समयसँगै सँगालिएका भावनाहरूलाई सांगीतिक रूपमा अभिव्यक्त गर्ने प्रयास गरिएको छ।


गीतमा चर्चित संगीतकार तथा गायक सन्तोष विसीको संगीत र स्वर रहेको छ भने गायिका जुनु प्रसाईंले स्वर दिनुभएको छ। शब्द, संगीत र गायनको संयोजनले गीतलाई भावनात्मक बनाएको छ।
गीतको भिडियोमा गीतकार भीमकुमार ओझा र उहाँकी जीवनसंगिनी देवी ओझाले अभिनय गर्नुभएको छ। गीतको भावअनुसार दृश्यहरू तयार गरिएको छ। भिडियो निर्देशन स्वयं सन्तोष विसीले गर्नुभएको हो भने एरेन्ज पूर्ण संयोगले गर्नुभएको छ। भिडियो सम्पादन चेतन समातले गर्नुभएको छ।
त्यस्तै, सागर पुनले रेकर्डिङ तथा ध्वनि कैदको काम गर्नुभएको छ भने कुमार सानु पुनले मिक्सिङ तथा मास्टरिङ गर्नुभएको छ। गीतको सम्पूर्ण रेकर्डिङ कार्य काठमाडौंको बागबजारस्थित शङ्करा डिजिटल स्टुडियोमा सम्पन्न भएको हो।
‘तिम्रै साथ’ले प्रेम र सम्बन्धका सामान्य तर गहिरा अनुभूतिलाई संगीतमार्फत प्रस्तुत गरेको छ। जीवनका सुखदुःखमा एकअर्काको साथ, विश्वास र आत्मीयताको महत्त्वलाई गीतले मुख्य विषय बनाएको छ। गीतको भिडियोमा देखिने दृश्यहरूले गीतकार र उहाँकी जीवनसंगिनीको सम्बन्ध तथा साझा जीवनयात्राको झल्को दिने प्रयास गरेका छन्।
‘तिम्रै साथ’ केवल प्रेमगीत मात्र नभई जीवनसाथीको महत्त्व र जीवनका सम्झनाहरूलाई उजागर गर्ने भावनात्मक सिर्जनाका रूपमा प्रस्तुत गरिएको छ। गीतले श्रोताहरूलाई आफ्नै जीवनका सम्बन्ध, सम्झना र अनुभूतिहरू सम्झाउने अपेक्षा गरिएको छ।
गीत ‘Bhim Kumar Ojha Official’ युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो। भिडियो सार्वजनिक भएको दिनमै एक मिलियन भ्युज पार गर्न सफल हुनुले गीतप्रति दर्शक–श्रोताको आकर्षण देखाएको निर्माण पक्षको भनाइ छ।
निर्माण टोलीले गीत हेरेर तथा सुनेर आफ्ना प्रतिक्रिया, अनुभूति र सुझाव कमेन्टमार्फत व्यक्त गर्न दर्शक–श्रोतासँग आग्रह गरेको छ। श्रोताबाट प्राप्त प्रतिक्रिया र सुझावले आगामी सिर्जनालाई थप परिष्कृत बनाउन सहयोग पुग्ने टोलीको विश्वास छ।













