सूर्यविनायक नगर सितोरियो कराते संघद्वारा पदक विजेता खेलाडी तथा प्रशिक्षकहरू सम्मानित
भक्तपुर — सूर्यविनायक नगर सितोरियो कराते संघको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरिएको छ। समारोहमा कर्णाली प्रदेशको सुर्खेतमा भइरहेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि भक्तपुर जिल्लाबाट बागमती प्रदेशमा स्वर्ण पदक प्राप्त गर्दै छनोट हुन सफल भक्तपुर डोजोकी खेलाडी शिरुषा सुजुलाई विशेष सम्मान गरिएको छ। उनलाई संघका तर्फबाट नगद रु. १५,००० र सम्मानपत्र प्रदान गरिनुका साथै सतिस श्रेष्ठ र रविन्द्र हिमांशुले व्यक्तिगत रूपमा जनही रु. ५,००० नगद सौजन्य गरेका थिए। यसैगरी, मित्रराष्ट्र बंगलादेशमा सम्पन्न १०औँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै स्वर्ण तथा रजत पदक जित्न सफल खेलाडीहरूलाई पनि नगदसहित सम्मानपत्र प्रदान गरिएको छ। सम्मानित हुनेमा स्वर्ण पदक विजेता पूर्णिमा खत्री नगद रु. ५,००००, अस्मिता तामाङ नगद रु. ३,००० र रजत पदक विजेता उज्वल कुसुमल राई नगद रु. २,००० रहेका छन्। सोही अवसरमा जगाती डोजोका प्रशिक्षक द्वय दिपेन्द्र ब्याञ्जु र सचिदानन्द बनेपालीलाई समेत सम्मान गरिएको थियो। सूर्यविनायक नगर सितोरियो कराते संघका अध्यक्ष कृष्णराम जाकिबञ्जारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापा विशेष अतिथि थिए भने कार्यक्रमको संयोजन रामशरण त्वातीले गरेका थिए।
















