पुस ११ देखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ हुने

पुस ११ देखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ हुने

भक्तपुर, मंसिर ११ । मध्यपुर थिमि नगरपालिकाले आगामी पुस ११ गतेदेखि ‘मध्यपुर थिमि खेलकुद महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक नीति, कार्यक्रम तथा बजेटअनुसार महोत्सव सञ्चालन गर्न लागिएको नगरपालिकाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

महोत्सवको औपचारिक शुभारम्भ पुस ११ गते ‘बागमती प्रदेश अन्तर नगरपालिका स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८३’ बाट गरिनेछ । बागमती प्रदेशभित्रका नगरपालिकाहरूबीच आपसी सम्बन्ध विस्तार, स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण र स्थानीय स्तरमा रहेका फुटबल प्रतिभाको पहिचान गर्ने उद्देश्यले मेयर कप आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

महोत्सवलाई समावेशी र विविधतापूर्ण बनाउन राष्ट्रव्यापी, प्रदेशव्यापी, उपत्यकाव्यापी तथा नगरव्यापी स्तरका विभिन्न प्रतियोगिता सञ्चालन हुनेछन् । महोत्सवअन्तर्गत मेयर कप फुटबलसँगै राष्ट्रव्यापी बुद्धिचाल, उपत्यकाव्यापी भलिबल, मार्सल आर्ट (कराते, तेक्वान्दो, उसु र आइकेकेएफ कराते), किक बक्सिङ, टेबल टेनिस, फुटसल, ब्याडमिन्टन, बास्केटबल, हाफ म्याराथन र स्नूकर प्रतियोगिता आयोजना गरिनेछ ।

स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको खोजी, विकास र प्रवर्द्धन गर्दै खेलाडीहरूलाई प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्नु महोत्सवको मुख्य लक्ष्य रहेको छ । युवाहरूलाई खेलकुदमा सक्रिय सहभागी गराउन नगरपालिकाले खेल पूर्वाधार विकास, खेलमैदानको स्तरोन्नति, नियमित प्रशिक्षण तथा विद्यालय तहदेखि नै खेल संस्कृतिको विकास गर्न शैक्षिक संस्था र खेलकुद संघसंस्थासँग सहकार्य गर्ने नीति लिएको छ ।

महोत्सवका क्रममा विभिन्न स्थानबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा दर्शकहरूको आगमन हुँदा नगरभित्रका होटल, रेस्टुरेन्ट, यातायात र स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । कला, संस्कृति र सम्पदाले समृद्ध मध्यपुर थिमिलाई खेलकुद र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महोत्सवले सघाउ पुर्‍याउने विश्वास नगरपालिकाले लिएको छ । महोत्सव सफल बनाउन सम्पूर्ण वडा, खेलकुद संघसंस्था, क्लब, विद्यालय, निजी क्षेत्र, नागरिक समाज र सञ्चारमाध्यमलाई सहकार्यका लागि नगरपालिकाले आग्रह गरेको छ ।