कमसल निर्माणका कारण छालिङको नात्यश्वरीमा पहिरो, जोखिम व्यवस्थापनमा जुट्दै
भक्तपुर, भाद्र २२ गते
नगरकोट क्षेत्रमा पहिरोले जनजीवन प्रभावति भएको छ । टेलकोटबाट छालिङ आउने नात्यश्वरी सडक खण्डमा हिजो गएको पहिरोले बाटो अवरुद्ध हुनुका साथै स्थानीय बद्री लामिछानेको घर जोखिममा परेको छ । नात्यश्वरी सडक फराकिलो र पीच गरी व्यवस्थित गरिए पनि ग्राबिन वाल कमजोर हुँदा पहिरो गएको स्थानीय न्हुछेभक्त फोजूले जनाएको छ । पहिरो स्थलको अवलोकन गर्दै उहाँले ग्राबिल वालको जग नपुगेको, वालमा सिमेण्टको भाग समेत कम देखिएको भन्दै कमजोर निर्माणले सो सडकमा पहिरो जाँदा बद्री लामिछाने सहितको दुई वटा घर जोखिममा परेको जनाएको छ । पहिरो गएर जनजीवनमा प्रभाव पारेपछिे फेसबुक मार्फत नेमकिपा चाँगुनारायणका अध्यक्ष समेत रहेका न्हुछेभक्त फोजूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यसै गरी उहाँले चानपा ६को टेलिकोटबाट बाख्रीगाउँ हुँदै नगरकोटको भट्टिडाँडा सडक खण्डमा पनि ठूलो पहिरो जाँदा सवारीसाधन आवतजावतमा अवरोध पुगेको बताएका छन् भने स्थानीय जनप्रतिनिधी धनबहादुर लामाले हिजो गएको सो पहिरो फन्छाएर बाटो खुलाई सकेको बताएका छन् ।


चाँगुनारायण नगरपालिकाका विपद्विज्ञ दिनेश थापाले सो पहिरो लामिछाने टोलका धु्रव लामिछानको २ तल्ले कच्ची घर पहिरोले आंशिक क्षति पुगेको पुष्टि गर्दै पहिरो पन्छाउने कार्य भएको जनाएको छ । नेपाली सेनाको श्री रणशुर गुल्म, नेपाल प्रहरी खरीपाटीको टोली, स्थानीय जनप्रतिनिधी र नगरपालिकाको विपद् व्यवस्थापन टोलीको सक्रियतामा विपद् व्यवस्थापन कार्य भएको उहाँले बताए । पहिरो स्थलहरुको अवलोकन गर्दै के कस्तो कारणले पहिरो गएको हो? सो वारे प्राविधिक निरिक्षणको आवश्यकतामा जोड दिदै विपद्विद् थापाले बाटो बनाउँदा भिटो काट्दा र कमसल माटोको कारणले चाँगुनारायण नगरपालिकाका वडा नं ५ देखि ९ सम्म बढी पहिराको जोखिम बढी रहेकोे बताएका छन् । पहिरो गएका ठाउँहरुको निरिक्षण गर्दै रोकथामकालागि आवश्यक कार्य भएको भन्दै उहाँले पहिरो गएका ठाउँहरुको ढल समेत पुरिँदा बाटो समेत बगाउने गरेकोले ढल खुलाउने कार्य समेत भएको बताए साथै उहाँले जोखिममा परेका बद्री लामिछानेको बारीमा प्लास्टिक ओछ्याएर र पानीको निकास मोडेर जोखिम व्यवस्थापन कार्यमा लागि रहेको समेत बताए छन् । सो क्षेत्रमा भाद्र २० र २१ गते परेको वर्षाले सो जोखिम निम्तिएको स्थानीयवासीको भनाई छ ।





















