लक डाउनमा कडाई राम्रो, बालि भित्र्याउन नपाउदा कृषक भने झन गम्भिर

लक डाउनलाई कडाई गर्दै सरकारले एक प्रदेशबाट अर्को प्रदेश एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हिलडुल गर्न प्रतिवन्ध लगाएपछि स्थानीय तह आसपासका समुदायलाई खेतिवारीमा फलेको अन्न र तरकारी भित्र्याउन समस्या भएको गुनासो गरेका छन् । जनताको स्वास्थ्यलाई ख्याल गर्दै लक डाउन बढाएको राम्रो महसुस गरे पनि खानपीनका लागि समेत अप्ठेरो हुने गरी किसानका कुरा नसुन्दा भने कृषकहरु चिन्तित हुन थालेका छन्  । पहेलोपुर भएका गहुंबाली र बारीमा पाकेको तरकारी समेत भित्र्याउन नसकेको भन्दै कृषकहरुले बालि भित्र्याउन आवश्यक पासको व्यवस्था गरि दिन अनुरोध गरेका हुन् । लक डाउनको क्रममा लामो समयसम्म घरमै बसि रहँदा खेतमा फलेको अन्न बाली र तरकारीहरु हावा हुरी र असिना पानीले नष्ट हुने चिन्ता पनि बढाएको कृषकहरुको गुनासो छ । बालि भित्र्याउने समयमा कोरना भाइरसको जोखिम रहेको बेला उपयुक्त बातावरण बनाएर कृषकहरुलाई बालि भित्र्याउन दिनुपर्नेमा जोडदिएका हुन । भनपा ८ का कृषक कृष्णप्रसाद गोसाईले चाँगुनारायण नगरपालिका क्षेत्रमा परेको आफ्नो तरकारी बारीमा जान खोज्दा ब्रम्हायणी पुल पारि जान नदिएपछि स्थानीय तहका जनप्रतिनिधीलाई गुहारेका छन् । भक्तपुर नगरपालिकाले दिएको पासले अर्को नगरपालिका जान नमिलेपछि आफूजस्तै अरु कृषकहरु पनि अप्ठेरोमा परेको भन्दै कृषकहरुलाई आवश्यक पासको व्यवस्था गराउन ध्यानाकर्षण गराएका छन् । अर्का कृषक कृष्णप्रसाद फैजूले कोरना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै घरमै बसि रहँदा बर्षभरी खानुपर्ने खेतबारीसम्म जान नसकेको भन्दै बाली भित्र्याउने ब्यवस्था पनि गर्नुपर्नेमा जोड दिएका छन् । सधै खेतीपातीमै जीवन गुजार्दैै आएका जेष्ठ नागरिक कृष्ण फैजू घरमै बसिरहँदा जिउँ दुख्न थालेको र तरकारी बेचेर आउने दुईचार पैसा पनि कमाउन नसकेको तथा तरकारी बालि समेत के भयो ?भनि भन्न नसकिने अवस्था आएकोमा चिन्ता ब्यक्त गरे । लक डाउनमा धुक्क भएर घरमै रहेका विष्णु गोसाईको बीडोल स्थित खेतवारीमा फलिसकेको लसुन बारी सबै चोरी भएको देखेर छक्क परेका छन् ।


आफ्नो कर्मथलो खेतवारी जान्न पनि चोर गए जस्तै सुरक्षाकर्मी छलेर हिड्नुपर्ने अवस्थाको अत्य गर्न जनप्रतिनिधीहरुलाई आवश्यक पासको व्यवस्था गरिदिन अनुरोध गरेका हुन । भक्तपुर नगरका अधिकास कृषक समुदायको खेतिबारी सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमी नगरपालिकामा समेत रहेकाले तिनीहरुलाई एक अर्को नगरपालिकामा रहेको खेतवारीमा रहेको आफ्नो पाकेको अन्न बाली भित्र्याउन, बजार लान समेत समस्या रहेको बताएका हुन । भक्तपुर नगरपालिकाले अतिआवश्यक काममा जानका लागि पासको व्यवस्था गरेको भए पनि नजिकका अन्य पालिकाहरुमा रहेको खेतवारीमा पाक्केको बालि भित्र्याउन जान समस्या रहेकाले आवश्यक पासको व्यवस्था गरिदिन अनुरोध गरेको हो ।
खेतवारीमा हिडेर जानेलाई त्यति कडाइ नगरिएको भए पनि आवश्यक पास लिएर जान पाएको भए कोरना भाइरसको जोखिमलाई ध्यान दिन्दै खेतवारीको काम पनि गर्न सकिने विचार कृषकहरुको छ । खेतवारीमा अन्न पाकेन र पाकेको बाली पनि भित्र्याउन सकिएन भने भोलि के खाने? यसमा किन सरकारले ध्यान नदिएको होला कृृषकहरु गुनासो गछन् । राम्रोसँग खेतबारी स्याहार्न नसकेपछि राम्रो बीउँ सुरक्षण गर्न समस्या देखिएको तथा बजारमा पनि पर्याप्त बीउ किन नसकिने अवस्था रहेको एवं मलको समेत समस्या हुने देखिएपछि कृषकहरु थप गम्भिर भएका छन् ।