देशभर विरोध प्रदर्शन, पत्रकार रजकको हत्यामा कारबाहीको माग ।

देशभर विरोध प्रदर्शन, पत्रकार रजकको हत्यामा कारबाहीको माग ।।
नेपाल पत्रकार महासङ्घले पत्रकार सुरेश रजकको हत्या भएको घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न र शान्तिपूर्ण रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षा सुनिश्चितताको माग गर्दै देशभर विरोध प्रदर्शन गरेको छ । महासंघको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित विरोध सभामा रजकको हत्यामा दोषीहरूको तत्काल कारबाहीको माग गरिएको हो। महासंघका अध्यक्ष दीपक आचार्यले माइतीघर मण्डलामा आयोजित विरोध सभामा पत्रकार रजकको हत्या षड्यन्त्रपूर्वक भएको भन्दै, घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई दण्डित गर्न सरकारसँग कडा दबाब दिइएको बताउनुभयो । शुक्रबारको प्रदर्शनका क्रममा, आक्रोशित प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्टको कार्यालयमा ढुंगामुढा गरेका थिए र फोटो खिच्ने बहानामा पत्रकार दिनेश गौतममाथि भौतिक आक्रमण भएको थियो ।


यसैबीच पत्रकार सुरेश रजकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । महासङ्घको आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सुनियोजित रूपमा भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणको विरोधमा आइतबारदेखि थप तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासङ्घले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाही गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन आन्दोलनको घोषणा गरेको हो। यसैबचि, महासङ्घले हिजो भएको पत्रकार हत्या, आक्रमण र मिडियामाथिको आक्रमणका विषयमा अध्ययन गर्न उपाध्यक्ष उमिद बाग्चन्दको संयोजकत्वमा ७ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ । केन्द्रीय समितिका सचिवहरू रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन कार्यदलमा सदस्य छन् । त्यस्तै, घटनाको विरोधमा महासङ्घले भोलि देशभरका पत्रकारलाई कालोपट्टी बाँधेर काम गर्न आह्वान गरेको छ । त्यस्तै, भोलि महासङ्घ केन्द्रले सङ्घीय सरकारका गृहमन्त्रीलाई, प्रदेश समितिहरूले प्रदेशका गृहमन्त्री र जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत एकैसाथ सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव रामप्रसाद दाहालले जानकारी दिनुभयो । त्यस्तै, मंगलबार घटनाका विषयमा सञ्चारगृहका सम्पादक र सरोकारवाला संघसंगठनका नेतासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।