१२औँ उद्योग दिवस विविध कार्यक्रम गरी सम्पन्न
‘औद्योगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ १२औँ उद्योग दिवस कार्यक्रम सम्पन्न भएको छ।उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरको आयोजनामा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन समितिका सदस्य एवं बागमती प्रदेशसभा सदस्य माननीय धनेश्वरी प्रजापतिको प्रमुख आतिथ्यता तथा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।
उद्योग दिवसको अवसरमा मध्यपुर थिमिको दुई पोखरी परिसर देखि शंखधर चोकसम्म भएको प्रभातफेरीमा विभिन्न व्यावसायिक संघसंस्था, उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागितामा रहेको थियो। प्रभातफेरीपश्चात् आयोजित कार्यक्रममा भक्तपुरका तीन उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि माननीय धनेश्वरी प्रजापतिले भक्तपुरका परम्परागत, लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरूलाई पर्यटन उद्योगसँग जोडेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सके स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउनुभयो। यसका लागि बागमती प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले स्थानीय उत्पादन र साना उद्यमीहरूको प्रवर्द्धनका लागि संघीय सरकारले समेत विशेष प्रोत्साहन तथा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले ‘गन्तव्य मध्यपुर’ निर्माण गर्ने नगरपालिकाको अवधारणाअनुरूप स्थानीय उत्पादनको बजारीकरणलाई प्राथमिकता दिइएको बताउनुभयो। मध्यपुर थिमिमा उत्पादित वस्तुहरूलाई स्थानीय पसल, मार्ट तथा ठूला व्यापारिक केन्द्रमार्फत बिक्री वितरण गर्ने वातावरण बनाउन नगरपालिकाले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो। विशेषगरी थिमिमा उत्पादन हुने सेरामिक्स तथा परम्परागत मुकुण्डो (मास्क) लगायतका मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सम्बन्धित उद्योगहरूको प्रवर्द्धनमा नगरपालिकाले सहयोग गर्दै आएको उहाँको भनाइ थियो।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधिले भक्तपुरका युवाहरूलाई रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने उद्यमीका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा इन्क्युबेसन सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो। उक्त केन्द्रमार्फत नयाँ उद्यमीलाई व्यवसाय सञ्चालन, सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। भक्तपुरका परम्परागत सीप, मौलिक उत्पादन तथा साना उद्योगको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकारी निकाय, निजी क्षेत्र र व्यावसायिक संघसंस्थाबीच सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।
भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले गो लोकल अभियानअन्तर्गत भक्तपुरका मौलिक उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा योगदान पुर्याउँदै आएका उद्यमीहरूलाई सम्मानले साना उद्यमीहरूमा थप उत्साह र हौसला प्रदान गर्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजार विस्तारका लागि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गर्दै लघु, घरेलु तथा साना उद्योगको विकासबिना मुलुकको अर्थतन्त्रलाई दिगो र सबल बनाउन कठिन हुने धारणा व्यक्त गर्नुभयो। साना उद्यमीहरूलाई उत्पादन, प्रविधि, सहुलियतपूर्ण ऋण, बजार व्यवस्थापन तथा करलगायतका क्षेत्रमा राज्यले विशेष सुविधा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष सुरेन्द्र तुम्बाजा श्रेष्ठले उद्योग तथा व्यवसायको सहज सञ्चालन, लगानीमैत्री वातावरण निर्माण र व्यावसायिक प्रवर्द्धनका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उद्योगी व्यवसायीले भोग्दै आएका व्यावहारिक समस्याको समाधान गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
भक्तपुर पर्यटन विकास समितिका कोषाध्यक्ष रमिला दुवालले भक्तपुर ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला भएकाले यहाँका घरेलु तथा साना उद्योगका उत्पादनलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो। गो लोकल अभियानमार्फत स्थानीय उत्पादनको पहिचान र प्रवर्द्धन गर्दै पर्यटन विकासमा योगदान पुर्याउने कार्य भइरहेको जानकारी दिँदै पर्यटकलाई स्थानीय उत्पादनसँग परिचित गराउन सके उद्यमी र पर्यटन व्यवसाय दुवै लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा उद्योग अधिकृत रामप्रसाद कुस्माले सहभागी सम्पूर्ण अतिथि, उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूलाई स्वागत गर्दै उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयको कार्यक्षेत्र, उद्देश्य र कार्यालयले सञ्चालन गर्दै आएका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको समापन गर्दै कार्यालय प्रमुख भक्तबहादुर भण्डारीले सम्मानित उद्यमीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले भक्तपुर जिल्लामा उद्योग तथा व्यवसायको स्थापना, सञ्चालन र प्रवर्द्धनका लागि कार्यालयले आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उद्योग दिवस कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, संघसंस्था, उद्यमी, व्यवसायी तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रममा उत्कृष्ट उद्यमीहरु नेवा तान उद्योगको संचालन कमलकेशरी राजचल ज्वज्वलषा सेरामिक्स उद्योगका प्रोपाईटर हरिचन्द्र प्रजापति तथा नेपाल नेपाल हाण्ड निट विजय सुवाललाई प्रमुख अतिथि विषेश अतिथि लगायतले फुलमाला तथा सम्मानपत्र द्धारा सम्मानित गरेको थियो ।











