वर्षा याममा खोलाले क्षति पुर्याएको वन्ति–ध्वँला पुल क्षेत्रको स्थलगत अवलोकन
भक्तपुर, १० मङ्सिर । वर्षायाममा खोलाको बहाव बढेर क्षति पुगेको भक्तपुर नगरपालिका वडा नं. १० स्थित वन्तिदेखि ध्वँला पुलसम्मको क्षेत्रको स्थलगत अवलोकन गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा तथा स्थानीय बासिन्दाको सहभागितामा उक्त क्षेत्रको निरीक्षण गरिएको हो ।
अवलोकनका क्रममा वर्षायाममा बाढी र कटानका कारण खोला किनार, आसपासका संरचना तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको अवस्थाबारे जानकारी लिइएको थियो । स्थानीय बासिन्दाले खोला नियन्त्रण, पर्खाल निर्माण तथा आगामी वर्षायाममा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल मर्मत तथा संरक्षणको काम अघि बढाउन आग्रह गरेका छन् ।
स्थलगत अवलोकनपछि नगर प्रमुख प्रजापतिले क्षतिको वास्तविक अवस्था मूल्याङ्कन गरी आवश्यक पूर्वाधार मर्मत तथा खोला व्यवस्थापनका लागि नगरपालिकाले पहल गर्ने बताउनुभयो ।











