रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना
भक्तपुर, चैत्र ११ गते
रेडियो जनसञ्चार १०७.९ मेगाहर्ज प्रशारण सुरु भएको १७ वर्ष र जनसञ्चार टेलिभिजन प्रशारणको ५ वर्ष पुगेको अवसरमा आज वृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । जनस्वास्थ्य कार्यालय भक्तपुरको प्राविधिक सहयोगमा कमलविनायकस्थित यातु गणेश मन्दिर परिसरमा निःशुल्क नसर्ने रोग परिक्षण तथा योग प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षणमा २ सय भन्दा बढीले सहभागिता जनाए पनि ३० वर्ष नाघेका १२८ जनाले स्वास्थ्य परिक्षण गरेको थियो । मानिसको तौल र उचाइको अनुपातलाई विश्लेषण गर्दै स्वास्थ्यकर्मीहरुले सो अवसरमा सहभागिहरुको प्रेसर र सुगर परिक्षण मार्फत नसर्ने रोग बारे जानकारी र परामर्श दिएका थिए ।


स्वास्थ्य परीक्षण अघि भक्तपुर आर्युवेद तथा बैकल्पिक चिकित्सालयका डाक्टरहरुले योग प्रशिक्षण दिएको थियो ।
विश्वव्यापीरुपमा नसर्ने रोग व्यापक फैलि रहेकाले यसको संकतकाल घोषणा मात्र गर्न बाँकी रहेको उल्लेख गदै सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले ७० प्रतिशत मानिसहरु नसर्ने रोगका कारणले मृत्यु हुने गरेको बताउनु भयो । भ्यासिकनबाट विभिन्न रोगहरु नियन्त्रण गर्न सकिने भएपनि हाम्रो शरिर अनियन्त्रीत भएकाले नसर्ने रोगहरुको संक्रमण बढेको औल्याउनु भयो । प्राकृतिक जीवनशैली हराउँदै जाँदा झन नसर्ने रोगहरु बढेको उल्लेख गर्दै क्यान्सर, सुगर, डाबेटिज रोग भयाभव भइरहेकोले आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक भएकोमा जोड दिनु भयो । बजारको पाकेट खाने चलन बढ्दा अचेल बच्चाहरुमा समेत सुगर देखिन थाल्नु दुःखद विषय भएको भन्दै जनस्वास्थ्य अधिकारी खतिवडाले हरेकले आफ्नो खानपिन र जीवनशैलीलाई सुधार्नुपर्नेमा जोड दिनु भयो । खोप अधिकृत दिपक अच्छामीले योग र ध्यान गरेमा आधुनिक युगमा पनि नसर्ने रोगबाट बच्न सकिने भन्दै रोग लाग्ने पनि हाम्रो शरीर र रोगबाट छुट्कारा पाउने पनि हाम्रो जीवनशैली नै भएको प्रष्ट्याउनु भयो । उहाँले हामी स्वस्थ रहनकालागि निरन्तर योग र ध्यान गर्नुपर्ने बताउँदै नियमित स्वास्थ्य परिक्षणबाट पनि रोगहरुबाट बच्न सकिने धारणा राख्नु भयो ।
सो अवसरमा रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनका स्टेशन म्यानेजर एवं जनसञ्चार गृहका अध्यक्ष सुरेशप्रसाद सायंजूले समुदायमा विभिन्न रोगको संक्रमण बढ्दै गएको अवस्थालाई ध्यान दिदै कोरोना पश्चात विभिन्न शिविरहरु आयोजना गर्दै जनचेतनामूलक गतिविधिलाई जोड दिदै आएको बताउनु भयो । जनताको आवाज, जनताको विचार उद्घोष गर्दै हरेक दिन १८ घण्टा प्रशारणमा रहेको रेडियो जनसञ्चार र विगत ४ वर्ष देखि २४ सै घण्टा प्रसारणमा रहेको जनसञ्चार टेलिभिजनले जनसरोकारका विभिन्न विषयहरुमा यसै गरी कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिवद्धता जनाउँदै श्रोता, दर्शक, शुभचिन्तक र विज्ञापनदाताहरुप्रति आभार एवं धन्यवादज्ञापन व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, स्वतन्त्र पत्रकार संघका रत्न प्रजापति, पत्रकारहरु कृष्ण किसी, पूर्णभक्त दुवाल, मनिराम लामिछाने, केशव तिमल्सेना, सहलेस कासिछ्वा, रेणु त्वायनाबासु, नेपाल टेलिजिनका पत्रकार अंजिर विक, कमलविनायक टोल सुधार समितिका अध्यक्ष तीर्थराम दुमरु सहित विभिन्न क्षेत्रका श्रोता र दर्शक एवं सुभचिन्तकहरुको सहभागिता थियो ।
सो अवसरमा डाक्टर शर्मिला सुनुवारले सहभागिहरुलाई योग अभ्यास गराउनुका साथै प्रशिक्षण पनि दिएको थियो भने डा. प्रभाकर मनुले स्वास्थ्य परिक्षण र परामर्श दिएको थियोे । यसै बीच जनस्वास्थ्यका स्वास्थ्यकर्मीहरुले सहभागिहरुको सुगर प्रेसर, हाईट र वेट नाप्दै सहभागिहरुको तथ्यांक संकलन गर्नुका साथै आवश्यक परामर्शहरु दिएका थिए ।











