चाडपर्व लक्षित गरी भक्तपुरमा यात्रु सहायता कक्ष सञ्चालन, ७३१ प्रहरी परिचालन गरिने
भक्तपुर।
नजिकिँदै गरेका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै जिल्ला बाहिर जाने यात्रुहरूको सुरक्षा र सहजताका लागि भक्तपुरका दुई मुख्य नाकामा यात्रु सहायता कक्ष -नागरिक सहायता sIf_ सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले जगाती र मध्यपुर थिमिमा स्थापना गरेका सहायता कक्षको बिहीबार औपचारिक उद्घाटन गरिएको हो।
सहायता कक्षको उद्घाटन गर्दै भक्तपुरका प्रहरी उपरीक्षक –एसपी_ सूर्यबहादुर खड्काले चाडपर्वमा घर फर्किने यात्रुहरूले कुनै पनि किसिमको दुःख वा असुविधा भोग्नु नपरोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको बताए। उनले यात्रालाई सरल, व्यवस्थित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना लागू गरिएको र यात्रुहरूको भाडादर सम्बन्धी गुनासो तथा अन्य समस्या समाधानका लागि २४ सै घण्टा प्रहरी परिचालन गरिने जानकारी दिए। साथै, यात्रुको चाप अनुसार यातायात व्यवसायीहरूसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइने उहाँको भनाइ थियो।
यसैबीच, भक्तपुर प्रहरीका सूचना अधिकारी दीपककुमार कार्कीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा समग्र जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजनाबारे विस्तृत जानकारी दिएका छन्। असोज १६ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि तयार पारिएको यो विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७३१ जना प्रहरी पोसाक तथा सादा पोसाकमा गरी २३ प्रकारका ड्युटीमा खटाइनेछ।
सूचना अधिकारी कार्कीका अनुसार चाडपर्वको समयमा आर्थिक कारोबार बढी हुने क्षेत्र, व्यापारिक केन्द्र, किनमेलका स्थल र भीडभाड हुने सार्वजनिक स्थानहरूमा सुरक्षा निगरानी बढाउने तयारी गरिएको छ। सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र चुस्त बनाउन जिल्लाभर ५२८ वटा सीसीटीभी क्यामेराबाट समेत २४ सै घण्टा निगरानी राखिनेछ। सवारी दुर्घटना र सडक जाम नियन्त्रणका साथै आपराधिक गतिविधि, लागूऔषध दुर्व्यसन र जुवातास जस्ता गैरकानुनी कार्य रोक्न प्रहरीले विशेष सतर्कता अपनाउने जनाएको छ।
खल्ती खाता ठगी गर्ने चार जना सार्वजनिक
सुरक्षा योजना सार्वजनिक गर्ने क्रममा प्रहरीले ‘खल्ती’ खाताको आधिकारिक प्रतिनिधि भन्दै ठगी धन्दा चलाउने चार जनालाई नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। पक्राउ परेका व्यक्तिहरूको कब्जाबाट रु= ८ देखि १० लाखसम्म मूल्य पर्ने दुई वटा मोटरसाइकल, अनलाइन स्क्यामका लागि प्रयोग गरिएका मोबाइल सेटहरू, विभिन्न डिजिटल डिभाइसका साथै गाँजा लगायतका लागूऔषधजन्य सामग्रीहरू समेत बरामद गरी प्रदर्शन गरिएको छ।













