भोटेकोशी बाढीपीडितको पुनस्र्थापना र पुनर्निर्माण प्रदेश सरकारको पहिलो प्राथमिकता ः मुख्यमन्त्री थापा
भक्तपुरः बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको पुनस्र्थापना र क्षतिग्रस्त पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गर्न निजी क्षेत्रसँग आग्रह गरेका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन एवं वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग छलफल कार्यक्रममा मुख्यमन्त्री थापाले बाढीपीडितको पुनस्र्थापना र प्रभावित क्षेत्रमा पुनर्निर्माण गरी पुरानै अवस्थामा फर्काउन पूर्वाधार निर्माण कार्यलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य गरेर पुनस्र्थापना र पुनर्निर्माणको काम अघि बढाउने उनको भनाइ छ ।


‘विनाशकारी बाढीका कारण धेरै जनधनको क्षति भएको छ, खर्बौको भौतिक संरचना ध्वस्त भएका छन्’, उनले भने, ‘प्रभावित क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारको ध्यान केन्द्रित छ ।’ बागमती प्रदेश सरकारले प्रभावित क्षेत्रमा पुगेर सुरुवाती चरणमा उद्धार कार्यसँगै खाद्यान्नलगायतका राहत वितरण गरेको र अहिले पुनस्र्थापना र पुनर्निर्माण कार्यमा लागिपरेको उनले बताए । राज्य एक्लैले चाहेर मात्र बाढी प्रभावित क्षेत्रमा सबै काम गर्न नसक्ने भन्दै उनले सहकार्यका लागि निजी क्षेत्रलगायत विभिन्न संघ संस्थासँग छलफल गरिरहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मौलिक एवं स्थानीय उत्पादन निर्यातलाई वृद्धि गर्नुपर्नेमा जोड दिए । स्थानीय उत्पादनसँग सम्बन्धित उद्योग व्यवसाय विकासका लागि सीप, तालिम सञ्चालनसँगै युवा महिला उद्यमशीलता विकास गर्न महासंघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र प्रदेश सरकार सहकार्य गरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा बजार सञ्चालनका लागि महासंघले स्थायी संरचना निर्माण गर्न कार्ययोजना बनाइरहेको जानकारी दिए ।
संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेले भक्तपुर जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन जिल्लामा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र आवश्यक रहेको बताए । संघले भक्तपुर जिल्लाका उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उद्देश्यका साथ दोस्रो भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन गर्न लागेको जानकारी दिँदै उनले मेला सफल बनाउन तीनै तहका सरकार, उद्योगी, व्यवसायी लगायत सम्पूर्ण क्षेत्रको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक शिवप्रसाद मानन्धर, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष दिनेश गोसाई, कार्यसमिति सदस्य ऋषिकेश श्रेष्ठलगायतले आआफ्नो धारणा राखेका थिए ।
यसैबीच, वस्तु तथा सेवा निर्यात गर्ने उद्योगी, कार्गो व्यवसायी एवं निर्यातकर्ताहरुसँग व्यापक छलफल गरिएको छ । कार्यक्रममा यूपीएस नेपालको तर्फबाट निर्यातसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो भने छलफलको क्रममा पहिचान गरिएका निर्यातसम्बन्धी समस्या र समाधानका सुझावसहितको पत्र मुख्यमन्त्री थापालाई संघका अध्यक्ष न्यौपानेले हस्तान्तरण गरे ।
यसैगरी, जिल्लाको आधुनिक एवं व्यवसायिक कृषि, दिगो पर्यटन र निर्यातमुखी हस्तकला, औद्योगिक तथा व्यवसायिक विकास लागि संघको तर्फबाट १३ बुँदे माग एवं सुझावसहितको पत्र समेत मुख्यमन्त्री थापालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु, पूर्वअध्यक्ष एवं सल्लाहकारहरु, जिल्लास्थित विभिन्न वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिहरु, जिल्लाका प्रतिष्ठित उद्योगी व्यवसायीहरु, कार्गो व्यवसायी लगायत निर्यातकर्ताहरु सहभागी थिए ।














