भक्तपुरमा विभिन्न मुद्दाका ७ फरार प्रतिवादी पक्राउ, १४ लाखभन्दा बढी जरिवाना असुल गर्न बाँकी
भक्तपुर, १२ असोज ।
अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत भक्तपुर प्रहरीले बैंकिङ कसुर र चेक अनादर मुद्दामा सजाय तथा जरिवाना तोकिएका ७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी वृत्त जगाती तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले असोज १२ गते उनीहरूलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो।

पक्राउ पर्नेहरूमध्ये बैंकिङ कसुर मुद्दाका ४ जना र चेक अनादर मुद्दाका ३ जना रहेका छन्। पक्राउ परेका प्रतिवादीहरूबाट कुल १ वर्ष १३ दिन कैद र १४ लाख ३७ हजार ७ सय ५० रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार कार्कीले जानकारी दिनुभयो।
कैद तथा जरिवानाको विवरण:
- बैंकिङ कसुर (४ जना): १३ दिन कैद र रु. १४,३६,७५०/- जरिवाना
- चेक अनादर (३ जना): १ वर्ष कैद र रु. १,०००/- जरिवाना
- जम्मा (७ जना): १ वर्ष १३ दिन कैद र रु. १४,३७,७५०/- जरिवाना
प्रहरीले अदालतको अन्तिम फैसला भई सजाय तथा जरिवाना भुक्तान नगरी फरार रहँदै आएका व्यक्तिहरू विरुद्ध फैसला कार्यान्वयनका लागि सक्रियता बढाउँदै लगेको छ।














