भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड

भक्तपुर नगरपालिकाको आव २०७९।८० को बजेट २ अर्व १८ करोड
भक्तपुर, असार १० गते
शिशु स्याहार केन्द्र देखि ख्वप विश्व विद्यालयसम्म व्यवस्थित तरिकाले सञ्चालन गर्दै भक्तपुर नगरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य लिएको भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७९।८० सालका लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय व्ययको बजेट प्रस्तुत गरेको छ । आज विहान नगरपालिकाको सभाहलमा आयोजित १२ औं नगरसभाकोक्रममा नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व.२०७९।८० का बजेट बक्तव्य प्रस्तुत गर्नु भएको हो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभाध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख जोशीले आव २०७८।७९मा १ अर्व ९३ करोड २० लाख आम्दानीको अनुमान गरिएकोमा गत जेष्ठ मसान्तसम्म १ अर्ब १४ करोड ६० लाख (५९.७५ प्रतिशत) आम्दानी गरी व्ययतर्फ भने १ अर्व १० कोड २२ लाख १७ हजार २ सय विनियोजन गरिएकोमा ८० करोड १८लाख ४३ हजार गरी ७२.७५ प्रतिशत गरेको छ ।
उपप्रमुख जोशीले नगरवासीहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, कला संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन एवं जनजीवनका विभिन्न योजनाहरु समेतिएको जनाएको छ । भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम एवं योजना कार्यान्वयका लागि नगरवासीहरुमा करको दर नबढाई करको दायरा बढाएको जनाएको छ ।
भक्तपुर नगरपालिकाले सबभन्दा बढी महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत (रु.५१ करोड ६८ लाख)बजेत विनियोजन गरेको छ । शिक्षा र संस्कृतिलाई दोस्रो प्राथमिकताका साथ वजेत विनियोजन गरेको छ । शिक्षा र संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार गरी १९.४३ प्रतिशत बजेत विनियोजन गरेको हो भने भौतिक पूर्वाधार निर्माणका लागि भने ३९ करोड ४८ लाख (१८.०७प्रतिशत) रहेको छ । हालै २५ शैय्याबाट १०० शैय्यामा स्नोती भएको ख्वप अस्पताललाई सुविधा सम्पन्न जनताको अस्पतालको रुपमा विकास गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा र्निर्माण सम्पन्न गर्न ८ करोड बजेट विनियोजन गरेको छ । यसै गरी वडा वडामा प्राथमिक स्वास्थ्य केन्द्र निर्माणकालागि २ करोड ८३ लाख २० हजार विनियोजन गरेको छ । नगर पालिका भित्रका सम्पदाहरुलाई जोगाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सम्पदा संरक्षणमा ९ करोड विनियोजन गरेको छ । निर्वाचन घोषणा पत्र अनुसार जेष्ठ नागरिकका लागि आदर निकेटन सञ्चालन गर्न ५० लाख रुपियाँ विनियोजन गरेको छ ।
खेल मैदान निर्माण देखि खेल गतिविधिका लागि ६ करोड १ लाख ९९ हजार, कृषि औजार एवं बीऊ विजनकालागि कृषि क्षेत्रमा २ करोड ७ लाख, प्रशासनिक व्यवस्थापनका लागि ३८ करोड ८६ लाख ६३ हजार, वित्तीय तर्फ ४ करोड ६० लाख विनियोजन गरिएको छ । चिकित्सा शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी। शिक्षा शास्त्र लगायतका विषयहरुमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययनरत नगरवासीका विद्यार्थीहरुका लागि थप २ करोड शैक्षिक ऋण बढाएको छ । सभाबाट प्रस्तुत बजेट र कार्यक्रम प्रभावकारी कार्यानवयका लागि रचनात्मक सल्लाह सुझाबको अपेक्षा गरी सो बजेट प्रस्तुत गरिएको छ ।

 

 

 

भक्तपुर नगरपालिकाको आ.व. २०७९÷०८० को बजेट वक्तव्य

सभाध्यक्षज्यू एवं सभासदज्यूहरू,
— आगामी आ.व. २०७९।०८० को भक्तपुर नगरपालिकाको अनुमानित बजेट बाह्रौं नगरसभाको बैठकमा पेश गर्न पाउँदा गौरवान्वित ठानेको छु ।
— सर्वप्रथम, विभिन्न जनआन्दोलन र संघर्षहरू मार्फत जनताको अधिकार सुनिश्चित गर्ने क्रममा जीवन उत्सर्ग गर्नुभएका प्रातः स्मरणीय शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै जनआन्दोलनमा घाइते हुनुभएका, प्रवास र भूमिगत भएर राजनैतिक र सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान गर्नुभएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
— स्थानीय तह निर्वाचन २०७९ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट निर्वाचित हामी जनप्रतिनिधिहरूले नगरबासीहरुमाझ चुनावी घोषणापत्रमार्फत प्रतिवद्धता व्यक्त गरे अनुसार निरन्तर जनताको सेवामा लागिरहेका छौं । ऐतिहासिक एवम् विश्व सम्पदामा सूचीकृत नगर भक्तपुरलाई सफा, सुन्दर, स्वस्थ र सभ्य नगरको रुपमा विकास गर्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ‘पुर्खाले सिर्जेको सम्पति, हाम्रो कला र सस्ंकृति’ भन्ने नाराका साथ भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र र आन्तरिक एवं बाह्य पर्यटकहरूका लागि उत्कृष्ट गन्तव्यस्थल बनाउने लक्ष्य राखेका छौं ।
— भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालयसम्म व्यवस्थित तरिकाले सञ्चालन गर्ने र भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । नगरपालिकाद्वारा सञ्चालित विभिन्न शिक्षण संस्थाहरुबाट अनुसन्धानहरु गराउँदै जाने उद्देश्य लिएका छौं ।
— नगरबासीहरुको स्वास्थ्य सेवाको लागि २५ शैय्याको ख्वप अस्पताललाई १०० शैय्या स्वीकृति प्राप्त भइसकेको यस सभामा जानकारी गराउन चाहन्छु । अबका दिनहरुमा आधुनिक स्वास्थ्य सुविधासहित आवश्यकताअनुसार विशेषज्ञको सेवा र प्रसुती सेवा सञ्चालन गरिनेछ ।
— नगरपालिकाको सीमित स्रोतमा बढ्दो जनसङ्ख्या वृद्धिसँगै खानेपानीको आपूर्तिलाई पनि नगरपालिकाले विशेष जोड दिँदै आएको छ । खानेपानीको मुहान क्षेत्र नगरकोटलाई जलाधार क्षेत्र घोषणा गराउन प्रयास गरिनेछ । साथै मेलम्चीको पानी नगरबासीहरूको घर—घरमा वितरण गर्ने व्यवस्था मिलाइनेछ । पानीको अभाव कम गर्न आकाशे पानी सङ्कलन विधिलाई प्रोत्साहित गरिनेछ ।

 

सभाध्यक्ष महोदय,
यस सम्मानित नगरसभामा आर्थिक वर्ष २०७८÷७९ को लागि नगरपालिकाले विनियोजन गरेको वार्षिक आय र व्ययको यथार्थ विवरण निम्नानुसार प्रस्तुत गर्दछु ः—
आयतर्फ ः
यस नगरपालिकाको चालु आ.व. को लागि कूल बजेट रु. १ अर्ब ९३ करोड २० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ आम्दानी जम्मा रु. १ अर्ब १४ करोड ६० लाख (५९.३२ प्रतिशत) भएको छ ।
व्ययतर्फ ः
चालू आ.व. को ०७८÷७९ को लागि चालुतर्फ रु. १ अर्ब १० करोड २२ लाख १७ हजार २ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च रु. ८० करोड १८ लाख ४३ हजार (७२.७५ प्रतिशत) भएको छ ।
पुँजीगततर्फ रु. ८२ करोड ९७ लाख ८२ हजार ८ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च रु. ४० करोड १३ लाख २२ हजार (४८.३६ प्रतिशत) भएको छ ।
चालू आ.व.मा कूल रु. १ अर्ब ९३ करोड २० लाख खर्च हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्मको यथार्थ खर्च रु. १ अर्ब २० करोड ३१ लाख ६५ हजार भई ६०.५५ प्रतिशत यथार्थ खर्च भएको छ । चालू आ.व. को असार मसान्तसम्ममा कूल खर्च ७१.५९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

सभाध्यक्ष महोदय,
यस सम्मानित नगरसभामा आर्थिक वर्ष २०७९÷०८० को लागि नगरपालिकाको वार्षिक अनुमानित आय व्ययको विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ः—

आयतर्फ ः
नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकम साथै ऋण सापटी र नगरपालिकाको जग्गा विक्रीसमेत गरी आ.ब. २०७९÷०८० को लागि कूल रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजार आय अनुमान गरिएको छ ।
त्यसमध्ये बाह्य स्रोतबाट जम्मा रु. १ अर्ब ६४ करोड ७७ लाख २६ हजार आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान, विशेष अनुदान र अन्य अनुदान शीर्षकमा रु. ६५ करोड ४४ लाख प्राप्त हुने अनुमान गरिएको छ । सामाजिक सुरक्षा भत्तावापत रु. ५० करोड आम्दानी हुने अपेक्षा गरिएको छ ।
बागमती प्रदेश सरकारबाट यस नगरपालिकामा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा जम्मा रु. ८ करोड ९ लाख ३२ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
संघ तथा प्रदेश सरकारबाट मूल्य अभिवृद्धि कर, सवारी कर र मालपोतवापत राजश्व बाँडफाँडबाट रु. १७ करोड २३ लाख ९४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
नगरपालिकाबाट सञ्चालित देका–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न रु. २० करोड ऋण प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक आयतर्फ नगरवासीहरूबाट विभिन्न शीर्षकमा कर दस्तुरवापत उठ्ने रकम, व्यवसाय कर, पर्यटकहरूबाट उठ्ने रकम र जग्गा बिक्रीबाट समेत गरी कूल रु. ४६ करोड ८१ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

व्ययतर्फ ः
१. २०७९ असार ९ गते नगरसभाबाट पारित गरिएको नीति तथा कार्यक्रमको आधारमा चालू र पुँजीगत खर्च गरी निम्न शीर्षकहरूमा रु. २ अर्ब १८ करोड ४२ लाख ४२ हजारको कूल बजेट विनियोजन गरिएको छ ।
२. संघीय सरकारको चालू खर्चतर्फ विभिन्न शीर्षकमा ३५ करोड ६५ लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्तामा ५० करोड रुपैयाँ र बागमती प्रदेश सरकारको तर्फबाट ३१ लाख २२ हजार रुपैयाँ र विभिन्न समितिहरुको खर्च ६ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । आन्तरिक तर्फ चालू खर्चको लागि ४९ करोड ७९ लाख २० हजार रुपैयाँ गरी चालू खर्चका लागि कूल रु. १ अर्ब ४२ करोड ८४ लाख ४२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
३. वित्तीय खर्च तर्फ रु. ४ करोड ६० लाख विनियोजन गरिएको छ ।
४. पुँजीगततर्फ रु. ७० करोड ९८ लाख विनियोजन गरिएको छ ।
५. १०० शैøयाको स्वीकृति प्राप्त ख्वपः अस्पताल भवन निर्माणा अन्तिम चरणमा छ । यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’ सञ्चालन गर्न रु. ८ करोड विनियोजन गरिएको छ ।
६. नगरपालिकाद्वारा सञ्चालित देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैया विनियोजन गरिएको छ ।
७. निर्वाचन घोषणापत्रमा उल्लेख भए बमोजिम नगरवासी ज्येष्ठ नागरिकहरुलाई स्वस्थ वातावरणमा हेरचाह र संरक्षणको लागि वडा नं. ६ स्थित अँचा पोखरी परिसरमा आदर निकेतन संचालन गर्न ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
८. वडा नं. २ स्थित शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रुपैया, वडा नं. ७ स्थित महेश्वरी खेलमैदानको लागि १ करोड रुपैयाँ, वडा नं. १० स्थित बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रुपैयाँ तथा खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन समेत गर्न जम्मा ६ करोड १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
९. नगर प्रवेश गर्ने पुलहरु जीर्णोद्धार एवम् पुनःनिर्माण कार्यलाई निरन्तरता दिई बाराही पुल यस आ.व.मा सम्पन्न गर्ने गरी रु. ३ करोड विनियोजन गरिएको छ ।
१०. नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न रु. ५० लाख विनियोजन गरिएको छ । नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन रु. १ करोड २५ लाख विनियोजन गरिएको छ ।
११. नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ रु. १ करोड विनियोजन गरिएको छ ।
१२. क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन रु. ४० लाख विनियोजन गरिएको छ ।
१३. क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक रु. ५ हजारको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि रु. ९० लाख विनियोजन गरिएको छ ।
१४. नगरवासी किसानहरुद्वारा उत्पादित वस्तुको सुरक्षा र व्यवस्थापनका लागि वडा नं. ८ लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न रु. १ करोड तथा वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न रु. ४० लाख विनियोजन गरिएको छ ।
१५. नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरुको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरिएको छ ।
१६. नगरपालिकाका कर्मचारीहरुको स्वास्थ्य उपचार कोषको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
१७. नगरपालिकाबाट सञ्चालित क्रमागत विकास योजनाहरू सम्पन्न गर्न ८ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । संघीय तथा बागमती प्रदेश सरकारबाट समपूरक र विशेष अनुदानअन्तर्गत छनौट गरिएका योजनाहरूका लागि १० करोड ७५ लाख रुपैया विनियोजन गरिएको छ । सम्पदा पुनः निर्माण अन्तर्गतका क्रमागत योजनाहरू सञ्चालनका लागि रु. ३ करोड विनियोजन गरिएको छ ।
१८. थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरु पुनःनिर्माण र संरक्षणको लागि रु. ६ करोड विनियोजन गरिएको छ ।
१९. चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्देै २ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरिएको छ ।
२०. भक्तपुरको वास्तुकला, चित्रकला, संस्कृति, इतिहास, वातावरण, सरसफाई, पर्यटनलगायतका विषयमा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नशीपसंगै अध्ययन अनुसन्धान गर्न चाहनेहरूका लागि अनुदान दिने र विश्वविद्यालय तहमा इतिहास, भूगोल, नेपाल भाषा, संस्कृति पढ्ने विद्यार्थीहरूलाई नगरपालिकाको तर्फबाट छात्रवृत्तिको लागि बजेटको व्यवस्था गरिएको छ ।
२१. पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कूल लागत रकमको ३५ प्रतिशत नगरपालिकाको तर्फबाट अनुदान दिने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । यसका लागि ५० लाख रुपैया विनियोजन गरिएको छ ।
२२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु एवं अन्य जनजागरण सम्बन्धी सूचनाहरु जनतासामु सम्प्रेषण गर्ने उद्देश्यले ख्वप टेलिभिजन सञ्चालनकोे लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
२३. पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि रु ७० लाख विनियोजन गरिएको छ ।

कुल बजेटको चालू खर्चतर्फ ६५.३९ प्रतिशत, पुँजीगत खर्चतर्फ ३२.५० प्रतिशत र वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरिएको छ ।

सभाध्यक्ष महोदय,
नगरपालिकाले आ.व. २०७९÷८० का लागि प्राथमिकताका साथ बजेट विनियोजन गरेका शीर्षकहरू देहायबमोजिम रहेको सम्मानित नगरसभामा जानकारी गराउँदछु ः—

१. नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सर्वविदित्तै छ । शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३ प्रतिशत) विनियोजन गरिएको छ ।
२. नगरपालिकाद्धारा संचालित ख्वप अस्पतालका लागि अनुदान वापत रु ८ करोड, वडा वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि रु २ करोड ८३ लाख २० हजार(४.९५ प्रतिशत) विनियोजन गरिएको छ ।
३. नगरपालिकाभित्रका सम्पदाहरु जोगाई नयाँ पुस्तामा हस्तान्तरण गर्नको लागि सम्पदा संरक्षणमा ९ करोड (४.१२ प्रतिशत) विनियोजन गरिएको छ ।
४. भौतिक पूर्वाधार निर्माणका लागि रु. ३९ करोड ४८ लाख (१८.०७) विनियोजन गरिएको छ ।
५. फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा रु १३ करोड ५० लाख (६.१८ प्रतिशत) विनियोजन गरिएको छ ।
६. महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रुपैयाँ (२३.६६ प्रतिशत) विनियोजन गरिएको छ ।
७. युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैया विनियोजन गरिएको छ ।
८. कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया विनियोजन गरिएको छ ।
९. प्रशासनिक व्यवस्थापनको लागि रु. ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।
१०. वित्तीय तर्फ रु. ४ करोड ६० लाख विनियोजन गरिएको छ ।
भक्तपुर नगरपालिकाले प्रस्ताव गरेका योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्दा संघ र प्रदेशका कार्यक्रमहरूसँग दोहोरो नपर्ने गरी पारदर्शी एवं जवाफदेही ढंगबाट कार्यान्वयनको व्यवस्था गरिएको छ । यस नगरपालिकामा काम गर्न इच्छुक संघ—संस्था तथा विकास साझेदारहरूबाट प्राप्त सहयोग रकमलाई नगरपालिकामार्फत नै एकद्वार प्रणालीबाट कार्यान्वयनको व्यवस्था मिलाइएको छ ।
आ.व. २०७९।८० का लागि यस नगरपालिकाको आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९, स्वीकृत योजनाहरू र कर दस्तुरको विस्तृत विवरण अनुसूचीहरुमा समावेश गरिएको छ ।
यस वर्ष करको दर वृद्धि नगरी करको दायरालाई मात्र बढाएको व्यहोरा अवगत गराउन चाहन्छु ।
अन्त्यमा,
आ.व. २०७९।८० का लागि यस नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा आप्mनो अमूल्य सुझाव दिनुहुने सम्पूर्ण नगरवासी, संघसंस्था तथा कार्यालयहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु । सभामार्फत प्रस्तुत बजेट र कार्यक्रम पारित गरी प्रभावकारी कार्यान्वयनको लागि सभासद्ज्यूहरुबाट रचनात्मक सल्लाह सुझावको अपेक्षासहित यो बजेट मन्तव्य अन्त्य गर्दछु ।

२०७९ असार १० गते रजनी जोशी
उपप्रमुख