दुई दिने ‘हेरिटेज मार्केट-कल्चरल किचन मेला सम्पन्न
भक्तपुर, ९ असार । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजनामा सञ्चालित दुई दिने ‘हेरिटेज मार्केट-कल्चरल किचन मेला सम्पन्न भएको छ। भक्तपुर पर्यटन विकास समितिको सहकार्य र ‘गो लोकलको संयोजनमा भक्तपुर घरेलु तथा साना उद्योग संघको १५ औं संस्करणका रूपमा यो मेला आयोजना गरिएको हो।भक्तपुरका मौलिक रैथाने घरेलु तथा साना उद्योग एवं स्थानीय सीपबाट उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त मेलाको समापन बागमती प्रदेश सभा सदस्य माननीय सृजना सैजुको प्रमुख आतिथ्यतामा भयो।
मेलामा भक्तपुरको पहिचान झल्किने काष्ठकला, हस्तकला, र काठका दैनिक प्रयोग हुने वस्तुहरू,परम्परागत भादगाउँले कालो टोपी,तान बुनाई तथा कटनका कपडाहरू,परम्परागत नेवारी गहनाहरू तथा धातुका सामग्रीहरू,भक्तपुरको प्रसिद्ध जुजु धौ, फ्रोजन योमरी, च्याउका विभिन्न परिकार तथा मौलिक नेवारी खाद्य परिकारहरू स्टलहरू राखिएका थिए।


समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननीय सृजना सैजुले भक्तपुरलाई सभ्यता र कलाको सहरका रूपमा चित्रण गर्नुभयो। “भक्तपुरको यो अनुपम कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने हेतुले मेला आयोजना हुनु सकारात्मक कदम हो,” उहाँले भन्नुभयो।मेला अवलोकनका क्रममा प्रौढदेखि युवासम्म र परम्परादेखि नवीनतम् शैलीका स्टलहरू देख्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले महिला उद्यमीहरूको बाहुल्यता र युवा पुस्ताले आफ्नै सीप प्रयोग गरी उत्पादन गरेका सामग्रीहरूको प्रदर्शनी देख्दा मनैदेखि प्रफुल्लित भएको बताउन्दै ती उद्यमीहरुपनि प्रशंसा गर्नुभयो। साथै प्रमुख अतिथि माननीय सृजना सैजुले भक्तपुरलाई सभ्यता र कलाको सहरका भएको कारण यहाँको मौलिक कला र सभ्यतालाई अर्थतन्त्रसँग जोड्ने उद्देश्यले साना तथा स्थानीय उद्यमीहरूलाई आफ्नो उत्पादन प्रवर्द्धन गर्ने सुनौलो अवसर प्रदान गरेको भन्दै आयोजक समूहप्रति हार्दिक आभार समेत प्रकट गर्नुभयो। विश्व बजार निश्चित व्यक्तिको हातमा गइरहेको अवस्थामा सामुदायिक रूपमा यस्ता मेलाहरू आयोजना गरेर बजार विस्तारमा योगदान पुर्याएको भन्दै उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो।”संसारभर बजार एकाधिकारतर्फ गइरहेका बेला, समुदाय स्तरबाटै यसरी मेला आयोजना गरेर स्थानीय बजारलाई फैलाउनु र उद्यमीलाई अवसर दिनु सराहनीय कार्य हो।” भन्नुभयो।
त्यसैगरी कार्यक्रममा ‘गो लोकलका संयोजक विरेन्द्र जतिले स्थानीय उत्पादनलाई बढावा दिने संस्थाको अवधारणाबारे प्रष्ट पार्नुभयो। त्यस्तै, संघका पूर्व अध्यक्ष तथा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठले साना उद्यमीहरूलाई सहुलियतपूर्ण शुल्कमा आफ्ना उत्पादन प्रवर्द्धन गर्ने अवसर दिएर भक्तपुर घरेलु तथा साना उद्योग संघले उच्च मूल्याङ्कनयोग्य काम गरेको बताउनुभयो।भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले समापन समारोहमा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो।भने भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले मेला सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने भक्तपुर नगरपालिका, नगर प्रहरी, स्थानीय बासिन्दा, सञ्चारकर्मी, सरसफाइ मजदुर, स्टल राख्ने उद्यमीहरू, टेन्ट एन्ड इभेन्ट्स सोलुसन, तथा लाइट र साउन्ड सिस्टमका प्राविधिकहरूसहित प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
समापन समारोहमा प्रमुख अतिथि माननीय सृजना सैजुले मेलामा सहभागी सबै उद्यमीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो भने मेला सहभागी स्टल मध्ये मूल्याकन समितिको कार्यविधि अनुसार उत्कृष्ट स्टल बन्न सफल भादगाउँले कालोटोपी संघलाई प्रशंसा पत्र प्रदान गरियो।
यसैगरी, दुई दिनसम्म आफ्नो सुमधुर गायनमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेकी गायिका कल्पना श्रेष्ठ र प्रमुख अतिथि माननीय सैजुलाई संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले संघका तर्फबाट ‘मायाको चिनो प्रदान गर्नुभएको थियो भने संघका सचिव श्रीजना कक्षपतिले मेला आयोजना गर्नु र संघले उद्यमी व्यवशायीहरुलाई प्रदान गर्दै आईरहेको सेवा सुविधाबारे चर्चा गर्नुभयो ।













