भक्तपुरमा लेखापढी व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तथा देवानी कानूनसम्बन्धी प्रशिक्षण सम्पन्न
भक्तपुर, असोज ४ ।
नेपाल लेखापढी व्यवसायी एसोसियसन, जिल्ला समिति भक्तपुरको आयोजनामा व्यवसायीहरूको पेशागत क्षमता अभिवृद्धि एवं देवानी कानूनसम्बन्धी एक दिवसीय विशेष प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ।
एसोसियसनको नवौँ अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमुख प्राथमिकता अनुसार आयोजना गरिएको उक्त कार्यक्रममा भक्तपुरका न्यायिक, प्रशासनिक तथा भूमिसँग सम्बन्धित निकायका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर जिल्ला अदालतका श्रेष्ठदार एवं लेखापढी व्यवसायी अनुगमन अनुशासन समितिका संयोजक सदन अधिकारी र कार्यक्रमका सभापति एवं एसोसियसन भक्तपुरका अध्यक्ष राम शरण राणाले संयुक्त रूपमा दियो-कलश प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि सदन अधिकारीले लेखापढी व्यवसायीहरूले नागरिक र न्यायिक निकायबीचको पुलको रूपमा काम गरिरहेकाले देवानी कानून र नयाँ कानूनी प्रावधानबारे अद्यावधिक रहनुपर्नेमा जोड दिनुभयो। यस्तै, कार्यक्रमका विशिष्ट अतिथि एवं नेपाल लेखापढी व्यवसायी एसोसियसनका केन्द्रीय अध्यक्ष सिताराम दाहालले व्यवसायीहरूको हकहितको संरक्षण र सेवा प्रवाहलाई पारदर्शी एवं मर्यादित बनाउन यस्ता प्रशिक्षण कार्यक्रम फलदायी हुने बताउनुभयो।

कार्यक्रममा गुठी संस्थान शाखा कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, भूमि प्रशासन कार्यालय भक्तपुरका प्रमुख अर्जुन राई, तथा भक्तपुर जिल्ला अदालत बार एकाईका अध्यक्ष राम सुन्दर खाइतु लगायतले आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको प्राविधिक तथा प्रशिक्षण सत्रमा भक्तपुर बारका निवर्तमान अध्यक्ष रविन्द्र प्रधानले ‘लेखापढी व्यवसायीको आचारसंहिता’, साबिक लगत सम्बन्धी जानकार बद्री बहादुर कार्कीले ‘साबिक लगत’, अधिवक्ता कुश्माखर सापकोटाले ‘देवानी कानूनको सैद्धान्तिक जानकारी’ र भक्तपुर बारका सचिव अनिस सुवालले ‘देवानी संहिताका समसामयिक विषयवस्तु’ माथि सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा हालै रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति १ मिनेट मौन धारण गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
नेपाल लेखापढी व्यवसायी एसोसियसन भक्तपुरका उपाध्यक्ष रुपा भण्डारीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन कार्यसमिति सचिव आशीष घिमिरेले गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै सभापति एवं अध्यक्ष राम शरण राणाले सहभागी प्रशिक्षक तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।














