मध्यपुर थिमिमा सनसनी: ३३ लाख नगदसहित प्रमुख प्रशासकीय अधिकृत घिमिरे अख्तियारको फन्दामा
भक्तपुर, १६ कार्तिक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले मध्यपुर थिमि नगरपालिकामा छापा मारी प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीसँग घुस लिएको आशङ्कामा गरिएको निगरानीका क्रममा लाखौँ नगद बरामद भएपछि यो घटना बाहिर आएको हो।
अख्तियारको टोलीले सोमबार अपराह्न नगरपालिका कार्यालयबाट बाहिरिएको बाग्मती प्रदेश ०१–०३५ च २६८७ नम्बरको टाटा इभी कारलाई निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिकै नियन्त्रणमा लिएको थियो। सो कारमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेका भाइ नाता पर्ने भुवन ढुङ्गेल, उनकी श्रीमती र चालक सवार थिए।
गाडीको खानतलासी गर्दा ३३ लाख रुपैयाँ नगद फेला परेको थियो। रकम बरामद भएलगत्तै अख्तियारको टोलीले कारमा सवार तीनैजनालाई नियन्त्रणमा लिई तुरुन्तै नगरपालिका कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई समेत पक्राउ गरी घटनास्थलमा ल्याएको थियो।
अख्तियारका अनुसार उक्त रकम प्रमुख प्रशासकीय अधिकृत घिमिरेले विभिन्न कामको सेटिङ मिलाएबापत घुस स्वरूप लिएर व्यवस्थापनका लागि आफ्ना आफन्तलाई बोकाएर पठाएका थिए। यता, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने आफूमाथि लगाइएको घुस लिएको आरोपलाई पूर्ण रूपमा खारेज गरेका छन्।
घटनास्थलमा सुरक्षाकर्मीको उपस्थितिमा अख्तियारको टोलीले बरामद रकमको मुचुल्का तयार पार्ने काम सम्पन्न गरी यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान तीव्र बनाएको छ।














