भक्तपुर नगरपालिकाद्वारा छुटेका किसानलाई सूचीकृत हुन आह्वान

भक्तपुर नगरपालिकाद्वारा छुटेका किसानलाई सूचीकृत हुन आह्वान

भक्तपुर — भक्तपुर नगरपालिकाले किसान पहिचान तथा सरकारी सेवा–सुविधा पारदर्शी र सुशासित रूपमा उपलब्ध गराउने उद्देश्यका साथ छुटेका किसानहरूलाई सूचीकरण प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

‘किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१’ अनुसार विद्युतीय प्रणालीमार्फत किसानको विवरण सङ्कलन गरी किसान परिचयपत्र उपलब्ध गराउने कार्य भइरहेको नगरपालिकाले जनाएको छ।

यसअघि भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ मा सहजकर्ता खटाइ किसान सूचीकरण कार्यक्रम सञ्चालन गरेको थियो। उक्त समयमा सूचीकृत हुन छुटेका कृषकहरूलाई यथाशीघ्र सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखा, दूधापाटीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

किसान सूचीकरण प्रणालीमा दर्ता हुनका लागि हालसालै खिचेको फोटो, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र खेतीको विवरण पेस गर्नुपर्नेछ। सरकारी तवरबाट प्राप्त हुने कृषि अनुदान, बिउबिजन, कृषि औजार लगायतका सेवा सुविधाहरूलाई व्यवस्थित र पारदर्शी बनाउन किसान परिचयपत्र अनिवार्य मानिएको छ।