विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

विभिन्न मुद्दाका ७ जना फरार प्रतिवादी भक्तपुरबाट पक्राउ

जनसञ्चार समाचारदाता

भक्तपुर, १७ कात्तिक

अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूले विभिन्न मुद्दामा सजाय र जरिवाना तोकिएका ७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, जगाती र मातहतका कार्यालयहरूबाट खटिएको टोलीले कात्तिक १६ गते ती फरार प्रतिवादीहरूलाई पक्राउ गरी कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:

  • चेक अनादर (चेक बाउन्स) मुद्दाका ४ जना: जसबाट कुल २ वर्ष कैद, रु. ३,००० जरिवाना र रु. ३९,५०,००० बराबरको बिगो रकम असुल हुन बाँकी रहेको थियो।
  • लागू औषध मुद्दाका २ जना: जसबाट ४० दिन कैद र रु. ४०० पीडित राहत कोषमा जम्मा गराउने फैसला भएको थियो।
  • मोटरसाइकल चोरी मुद्दाका १ जना: जसलाई ६ महिना कैद र रु. १५,००० जरिवाना तोकिएको थियो।

पक्राउ परेका सबै ७ जना प्रतिवादीहरूबाट कुल २ वर्ष ७ महिना १० दिन कैद, रु. १८,००० जरिवाना, रु. ३९,५०,००० बिगो रकम र रु. ४०० पीडित राहत कोष असुल गराउनका लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (DSP) दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।