स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण

स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडानसम्बन्धी व्यावहारिक प्रशिक्षण

भक्तपुर, कात्तिक — आधुनिक प्रविधिको प्रयोगमार्फत पत्रकारितालाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ स्वतन्त्र पत्रकार संघका पदाधिकारीहरूलाई ड्रोन उडान तथा सञ्चालनसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको छ।

प्रविधिमैत्री पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित भक्तपुरमा आयोजित उक्त तालिममा सहभागी पत्रकारहरूलाई ड्रोनको सिद्धान्त, सञ्चालन विधि तथा सुरक्षित प्रयोगबारे आधारभूत ज्ञानका साथै व्यावहारिक अभ्यास गराइएको थियो।

नाइन मण्डला कमलविनायक, भक्तपुरका संस्थापक श्रृतिक श्रेष्ठसहित तीन जना विज्ञ प्रशिक्षकहरूको टोलीले प्रशिक्षण प्रदान गरेको हो। तालिमका क्रममा प्रशिक्षकहरूले ड्रोन प्रविधिको माध्यमबाट समाचार संकलन, खोजमूलक भिडियो छायांकन तथा विभिन्न कोणबाट बहुआयामिक दृश्यहरू कैद गरी समाचार सामग्रीलाई थप आकर्षक र तथ्यपरक बनाउन सकिनेबारे प्रकाश पारेका थिए।

कार्यक्रमबारे जानकारी गराउँदै स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय सदस्य प्रेमध्वज लामाले बदलिँदो प्रविधिअनुसार पत्रकारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न यो तालिम महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँका अनुसार कार्यक्षेत्रमा पत्रकारहरूका लागि ड्रोन प्रविधिको आवश्यकता र मागलाई मध्यनजर गर्दै आगामी दिनहरूमा पनि यस्ता व्यावहारिक तालिमहरूलाई निरन्तरता दिइनेछ।