फ्रान्स निवासी समाजसेवीद्वय सुमित्रा र विद्याद्वारा CBR भक्तपुरमा मःमः भोज तथा क्यान्सर सचेतना कार्यक्रम
भक्तपुर
विगत ५० वर्षदेखि फ्रान्समा बस्दै आउनुभएका भक्तपुरका समाजसेवीद्वय सुमित्रा प्रधान र विद्या भाटाजुले CBR भक्तपुरका सदस्यहरूलाई मःमः भोज गराएका छन्। नेपाल भ्रमणको अवसरमा आफ्नो मातृभूमिका लागि सक्दो सहयोग गर्ने मनसायका साथ उहाँहरूले यो परोपकारी कार्य गर्नुभएको हो।
CBR भक्तपुरमा रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई उहाँहरूकै इच्छाबमोजिम मःमः खुवाइएको थियो। आफैँ खान समेत कठिनाइ हुने अपाङ्गता भएका व्यक्तिहरू मःमः खान पाउँदा औधी खुसी देखिएका थिए। उहाँहरूको अनुहारमा खुसी ल्याउनुका साथै CBR भक्तपुरमा आजै क्यान्सर रोगसम्बन्धी सचेतनामूलक परिचर्यात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।
सो कार्यक्रम समानताका लागि आवाजका सुरेश राजभण्डारी, CBR भक्तपुरका संस्थापक सूर्यराम प्रजापति, व्यवस्थापक सुरेश प्रधान लगायत विभिन्न सामाजिक अभियान्ताहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रमका अवसरमा समाजसेवी विद्या भाटाजुले विदेशमा रहेर पनि स्वदेशमा आफ्नो तर्फबाट सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, उहाँले अपाङ्गता भई ह्विलचियर आवश्यक परेका व्यक्तिहरूका लागि आफ्नो तर्फबाट ह्विलचियरको व्यवस्था गरिदिने प्रतिबद्धतासमेत जनाउनुभएको छ।














