श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।

श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी मिति २०८३ श्रावण ३० गते सम्पन्न भएको छ । संस्थाले आ.व.२०८२÷०८३ मा हासिल गरेका उपलब्धि, देखिएको समस्या, चुनौती तथा सुधारका पक्षहरुलाई समेटी आगामी आर्थिक वर्ष २०८३।०८४ को लागि वार्षिक बजेट तथा कार्ययोजनालाई प्रभावकारी, व्यवहारिक, यथार्थपरक र परिणाममुखि बनाउने उद्देश्य कार्यक्रम आयोजना गरिएको थियो ।
गोष्ठीमा संस्थाका अध्यक्ष राधेश्याम सुवालले संस्थागत विकास, सदस्य सेवा विस्तार, वित्तीय अनुशासन, सुशासन, जोखिम व्यवस्थापन तथा संस्थाको दिगो विकासलाई प्राथमिकतामा राखी आगामी वर्षका लागि तयार गरिने संस्थागत कार्ययोजना सहित मन्तव्य व्यक्त गर्नुभयो । उहाँले संस्थाले स्पष्ट लक्ष्य, समयबद्ध कार्ययोजना र जिम्मेवारी सहित अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रत्येक समिति, उपसमिति तथा कर्मचारीको सक्रिय सहभागिता र उत्तरदायित्वबाट मात्र निर्धारित उद्देश्य हासिल गर्न सकिने बताउनुभयो । सदस्यहरूको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखी बचत तथा ऋण सेवा, वित्तीय पहुँच, सदस्य शिक्षा, क्षमता विकास, प्रविधिको प्रयोग, आन्तरिक नियन्त्रण प्रणाली तथा संस्थागत सुशासनका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष बलराम प्रजापतिले वार्षिक समीक्षाको उद्देश्य, महत्व र संस्थागत उत्तरदायित्व सम्बन्धमा प्रकाश पार्नुभयो । उहाँले समीक्षा केवल विगतका गतिविधिको विवरण प्रस्तुत गर्ने प्रक्रिया मात्र नभई सम्पन्न कार्यको उपलब्धि मापन गर्ने, कमजोरी तथा चुनौती पहिचान गर्ने र आगामी दिनका लागि सुधारात्मक योजना निर्माण गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो । संस्थाका पदाधिकारी, समिति, उपसमिति तथा कर्मचारी सबैले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुँदै सामूहिक प्रयासका साथ संस्थाको लक्ष्य प्राप्तिमा योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
त्यसैगरी, लेखा सुपरिवेक्षण समितिका संयोजक बाल कृष्ण नागाले लेखा सुपरिवेक्षण समितिको कार्य, जिम्मेवारी तथा हालसम्म सम्पन्न भएका कार्यहरू बारे जानकारी गराउनुभयो । उहाँले संस्थाको आर्थिक कारोबार, लेखा प्रणाली, आन्तरिक नियन्त्रण, प्रचलित कानुन तथा संस्थाको नीति–नियमको पालना भए–नभएको विषयमा नियमित अनुगमन तथा सुपरिवेक्षण गर्नु समितिको प्रमुख जिम्मेवारी रहेको बताउनुभयो । समितिबाट संस्थाको आर्थिक तथा प्रशासनिक पक्षको अनुगमन, आवश्यक कागजात तथा अभिलेखको परीक्षण, आन्तरिक नियन्त्रण प्रणालीको समीक्षा तथा देखिएका सुधारका क्षेत्र सम्बन्धमा सुझाव प्रदान गर्ने कार्यहरू सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा लेखा अधिकृत श्रीकृष्ण ख्याजुबाट वित्तीय विवरण, प्रशासन प्रमुख कल्पना दुवालबाट प्रशासनिक, ऋण विभाग प्रमुख राजमति सुवालबाट ऋण लगानी तथा असुली सम्बन्धी प्रस्तुती दिनुका साथै संस्थाका विगतको कार्यसम्पादन गर्दै आगामी वर्षको लागि विभिन्न उपसमितिका संयोजकहरुले आ–आफ्नो क्षेत्रसंग सम्बन्धित प्रगति विवरण तथा आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको महत्वपूर्ण प्रस्तुतीका रूपमा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालबाट संस्थाको समग्र तुलनात्मक विगत वर्ष र चालु वर्षको संस्थागत विश्लेषणात्मक समिक्षा गर्नुका साथै चालु आर्थिक वर्षको संस्थागत, वित्तीय, प्रशासनिक तथा सेवा सम्बन्धी प्रगतिलाई तुलनात्मक रूपमा प्रस्तुत गर्दै संस्थाले हासिल गरेका उपलब्धि, सुधारका क्षेत्र तथा चुनौतीहरूको विश्लेषण गर्नुभएको थियो । आगमी आर्थिक वर्षका लागिा संस्थाले अवलम्बन गर्नुपर्ने रणनीतिक योजनाका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले प्रदेश सहकारी रजिस्टारको कार्यालयबाट जारी निर्देशनहरुका सम्बन्धमा सहकारी संस्थाले प्रचलित सहकारी ऐन, नियमावली तथा सम्बन्धित निकायबाट जारी निर्देशनहरुको पुर्ण पालना गर्नुपर्नेमा जोड दिदै प्रस्तुती दिनुभएको थियो ।
यस गोष्ठीमा प्रस्तुत विभिन्न प्रतिवेदन तथा सुझावहरु छलफल गरी संस्थाको आगामी आर्थिक वर्षको बजेट तथा कार्ययोजनालाई यथार्थपरक र उपलब्धिमुलक बनाउने निष्कर्ष अनुसार उद्घोषक पुनेन्द्र प्रसाद कुसी, सचिव बिष्ण प्रसाद सुवाल, उपसमितिका संयोजकहरु विश्वराम त्वायना, पुर्ण प्रसाद दुवाल, सर्मिला मानन्धर, चंचल कर्माचार्य, सृजन ग्वाछाले समेत बोल्नुभएको थियो ।