४४ औं तःमुज्याको सन्देश कामदार वर्गको पक्ष र सेवामा लेखिने साहित्य प्रगतिशिल
भक्तपुर, असोज २९ गते
चवालिसौं नेपाल भाषा साहित्य तःमुज्या कामदार वर्गको पक्ष र सेवाका निम्ति लेखिने साहित्य नै प्रगतिशील साहित्य हुन्छ भन्ने उद्घोषका साथ मंगलबार सम्पन्न भएको छ । ६ जना विभिन्न क्षेत्रमा योगदान गर्ने महानुभावहरुलाई सम्मानित गर्दै र तःमुज्यामा प्रस्तुत उत्कृष्ठ साहित्यकारहरुलाई पुरस्कृत गर्दै यस वर्षको तःमुज्या सम्पन्न भएको हो । भक्तपुर नगरपालिका वडा नं. ९स्थित कमलविनायकको लामुगः चौरमा सोमबार र मंगलबारकालागि भएको तःमुज्यामा दर्जनौ नयाँ तथा पूराना साहित्यकार, कानुनविद्, सिमाबिद, डाक्टर, चिकित््सक, सामाजिक र साँस्कृतिक अभियान्ता, सांसद, राजनीतिज्ञहरुले सम्बोधन गरेका थिए ।



पहिलो दिनमा जनकवि दुर्गालाल श्रेष्ठ र सम्पदा संरक्षण अभियन्ता भागवतनरसिंह प्रधानलाई सम्मानित गर्दै तःमुज्याको स्मारिका विमोचन र वरिष्ठ पत्रकार लक्ष्मणराज जोशीको प्रतिपक्षी कलम भाग २को विमोचन गरेको तःमुज्याले दोस्रो दिन शैक्षिक व्यक्तित्व मोहनप्रसाद प्रजापति, बौद्धिक व्यक्तित्व रत्नसुन्दर शाक्य, साँस्कृतिक गुरु रत्नभक्त न्हेम्हाफुकी, सामाजिक कार्यकर्ता जगतलाल मानन्घर, सफाइकर्मी गणेशराम दुवाल, अग्रज किसान कार्यकर्ता ललितबहादुर अवाललाई सम्मानित गरेको थियो ।
नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको प्रमुख आतिथ्यतामा सम्पन्न ४४ औं तःमुज्यामा वाचित साहित्यहरुमा कवितातर्फ सुनिता गाईसी पहिलो, शम्भु प्रूजापति दोस्रो, पल्पसा प्रजापति तेस्रो र रत्नगोपाल सिंख्वाल सान्त्वना भएका थिए । यस्तै कथातर्फ जगतमान सुकमणि पहिलो, रमेश प्रजापति दोस्रो, श्रीया पहिजु तेस्रो र एलके सुन्दर तेस्रो भएका थिए भने सान्त्वनामा पुण्यन्द्र कुसी पुरस्कृत भएका थिए ।
तःमुज्यामा प्रस्तुत साँस्कृतिक कार्यक्रमका उत्कृष्ठहरुलाई केही समयपश्चात हुने चिमुज्यामार्फत पुरस्कृत गर्ने तःमुज्याले जनाएको छ ।














