बौद्धिक र शारीरिक मजदुर बीच विभेड गर्न नहुने
भक्तपुर, बैशाख १९ गते
१३५ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा भक्तपुरमा आज र्याली तथा सभा आयोजना भएको छ । नेपाल क्रान्तिकारी मजदुर संघले भक्तपुर नगरको च्याम्हासिंहबाट आयोजित र्याली नगरको दत्तात्रय, सुकूलढोका, तौमढी हुँदै नासमनामा पुगेर सभामा परिनत गरेको थियो । मजदुर र किसानका प्रतिनिधीहरुलाई ज्वावल हस्तान्तरण गरी उद्घाटन भएको सो सभामा नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेको विश्व मजदुर दिवसको शुभकामना सन्देश सम्प्रेशन गर्दै सांसद प्रेम सुवालले बौद्धिक र श्रमजीवी मजदुरहरुकालागि मे दिवसको दिन महत्वपूर्ण रहेको बताउनु भयो । ८ घण्टा काम, ८ घण्टा मनोरञ्ज र ८ घण्टा सुत्ने वा आराम गर्न सबैले पाउनुपर्ने मे दिवसको महत्व माग भएको उहाँले बताउनु भयो । सांसद सुवालले मेदिवसको सम्झना गर्दै मजदुरहरु एक भएर अहिलेकोे साम्राज्यवाद विरुद्ध लड्न सक्नुपर्नेमा जोड दिनु भयो ।उहाँले पूजीवादी सरकारमा जाने कम्यूनिष्ट हुन नसक्ने र पूजीवादी सरकारबाट समाजबाद पनि नआउने चर्चा गर्दै माक्र्स र लेलिनवादी सिद्धान्त अनुसार पूँजीवादको चरम बेथितिबाट समाजबादको उद्य हुने बताउँदै राष्ट्रिय स्वाधिनताकालागि विदेशी पूजी भित्र्याउन दिन नहुने बताउनु भयो ।

मजदुरको सरकारले शारीरिक र बौद्धिक वर्गका मजदुर बीच भेड नहुने बताउँदै सांसद सुवालले बर्ग रहेसम्म मजदुर आन्दोलन उठि रहेको धारणा व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेक्रामसंघ भक्तपुर जिल्ला अध्यक्ष सृजना सैंजूले युवाहरु रोजगारी नपाएर, श्रमको मूल्य नपाएर गाउँ नै रिटो हुने गरी बहुराष्ट्र कम्पनीहरुमा चर्को घाममा काम गर्दा गर्दै दैनिक ८।९ वटा लासहरु भित्रिरहनु दुःखद् कुरा भएको बताउनु भयो । दीर्घ रोग, अंग भंग भएका मजदुरहरुको लेखाजोखा समेत नभएको चर्चा गर्दै उहाँले मजदुरहरुमाथिको शोषन अझ दरलाग्दो र भन्न नसकिने अवस्था रहेको भन्दै मे दिवसको अवसरमा ति मजदुरहरुको हिसाव किताब माग्न भेला भइरहेको पनि बताउनु भयो ।
नेक्रामसंघ भक्तपुरका अध्यक्ष उप्रेन्द सुवालको सभापतित्वमा भएको सभामा पास पुचःद्वारा क्रान्तिकारी गीत प्रस्तुत गरेको थियो ।














