यृुद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरुलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति
भक्तपुर । २०८० असोज ३० गते, मंगलबार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ‘भूकम्प इन्जिनियरिङ तथा विपद पछिको पुन:निर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले उक्त अन्तर्राष्ट्रिय सम्मेलनको पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्दै विदेशी मित्रहरूको महत्वपूर्ण प्रस्तुती र सुझावबाट मानव जातिको साझा भविष्य निर्माणमा उपयुक्त हुने निष्कर्षसहित सम्मेलन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल मजदुर किसान पार्टीले संविधान निर्माणको समयमा संविधानमा मावि शिक्षा नि:शुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा नि:शुल्क, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार नि:शुल्क, नेपालीको सम्पत्तिको सीमांकन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न संशोधनको माग राखेको बताउनुभयो ।
वैदेशिक रोजगारीका कारण नेपाल र नेपाली जनताले दु:ख पाइरहेको बताउँदै उहाँले युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको विकास सम्भव नभएको बताउनुभयो ।
ख्वप माविको जगमा २० वर्षअगाडि भक्तपुर नपाले ख्वप इन्जिनीयरिङ कलेज सञ्चालन गरेको बताउँदै उहाँले कलेज सञ्चालनबाट देशभरिकै जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय उच्च शिक्षाको अवसर पाएको बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘हामी ख्वपविश्वविद्यालय स्थापनाको तयारीमा छौं । ख्वप विश्वविद्यालयको विधेयक संसदमा पेश भएको ७ वर्ष भयो । सर्वसाधारण जनताका छोराछोरीहरुलाई उच्च शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वपविश्वविद्यालय स्थापना गर्ने तयारी सरकारमा गएका दलहरुलाई चित्त बुझेन र संसदबाट पारित भएको छैन । सरकारमा गएका दलहरुले आप्mना शिक्षा विरोधी नीति त्यागी छिटै ख्वपविश्वविद्यालयको विद्येयक पारित हुनेछ ।’
नेपाली विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण भएलगतै अभिभावकलाई घर खेत बेच्न लगाएर विदेशमा अध्ययनको लागि बाहिरिने क्रम क्रमश: बढिरहेको बताउँदै सांसद सुवालले विद्यार्थी अभावमा नेपालका ५०० ओटा कलेजहरु बन्द हुने स्थितिमा रहेको बताउनुभयो ।
सरकारले सिक्ने र कमाउने भनी इजरायलमा पठाएका कृषिमा स्नातक पढेका विद्यार्थीहरुमध्ये १० जनाको मृत्यु र केही हराइरहेको घटनाप्रति दु:ख व्यक्त गर्दै सांसद सुवालले नेपालका सरकारहरुले यृुद्धभूमि इजरायलमा नेपाली विद्यार्थीहरुलाई रोजगारीमा पठाउनु नै सरकारको गलत नीति भएको धारणा राख्नुभयो ।
एमसीसी सम्झौतामा नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म विद्युत प्रसारण लाईन निर्माण गर्ने प्रावधान राखिएको पुष्टि भएको बताउँदै उहाँले नेमकिपाले एमसीसी सम्झौता खारेज गर्नुपर्ने आवाज निरन्तर उठाउँदै आइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले यहाँका सम्पदाहरू पुन:निर्माणको कहिल्यै विदेशीको मुख नताकेको बताउँदै स्थानीय जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा र हालसम्ममा १३५ वटा सम्पदाहरु पुन:निर्माण र जिर्णोद्वार सम्पन्न भइसकेको बताउनुभयो ।
उहाँले स्थानीय जनशक्ति, मौलिक प्रविधि, स्रोत र साधनको प्रयोग गरी प्राचीन शैलीमै निजी घर र सम्पदाहरु पुन:निर्माण गर्न पाउँदा निकै गौरवान्वित महसुस भएको बताउनुभयो ।
सम्पदा पुन:निर्माण सरकारको प्राथमिकतामा नपर्नु, सरकारले सहज काठ उपलब्ध नगराउनु र सम्पदा पुन:निर्माण ठेक्कामा गराउनुपर्ने व्यवस्था भक्तपुरका केही महत्वपूर्ण सम्पदाहरु पुन:निर्माणका लागि बाधक बनिरहेको स्पष्ट पार्दै भक्तपुर नपाको निरन्तरको प्रयाशबीच पनि कानुनी, प्राविधिक र आर्थिक कारण भक्तपुर दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको न्हयेकं झ्यो दरबार पुन:निर्माण हुन नसकिरहेको विचार व्यक्त गर्नुभयो ।
चीनको सिचुवान प्रान्तको पुन:निर्माण कार्यबाट नेपालले पनि सिक्न जरुरी रहेको बताउँदै प्रमुख प्रजापतिले भूकम्पले भन्दा पनि मानव निर्मित संरचनाहरुको कारण धनजनको क्षति हुने हुँदा कुनै पनि भौतिक संरचनाहरु निर्माण गर्दा सचेत र संवेदनशील हुनु आवश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेशका सांसद सृजना सैंजुले नेपाल संसारकै भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्ने देश भएको बताउँदै नेपालको लागि भूकम्पीय इन्जिनियरिङ र भूकम्पपछिको प्रभावकारी पुन:निर्माण विधि अति आवश्यक विषय भएको बताउनुभयो ।
भूकम्प इन्जिनियरिङ विषयलाई राष्ट्रिय आवश्यकताको पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उहाँले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनले बौद्धिक छलफलको लागि उपयुक्त मञ्च तयार गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ख्वप इन्जिनियरिङ कलेजले विभिन्न समयमा यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा सम्मेलनहरु आयोजना गर्दै आइरहेको बताउँदै समाजलाई बुद्धिजीवीकरण गर्ने नपाको उद्देश्य पूरा गर्न यसले मद्दत पुर्याउने बताउनुभयो ।
भूकम्पले क्षतिसँगसँगै सम्पदा पुन:निर्माणको अवसर पनि प्राप्त भएको बताउँदै यसबाट पाठ सिक्दै अझ बलियो र भूकम्पप्रतिरोधी संरचना निर्माणमा सबैलाई सचेत र अभिप्रेरित गराएको उहाँले सोही अवसरमा बताउनुभयो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका डीन देवीप्रसाद भट्टराईले सम्मेलन पूर्ण सफलताको कामना गर्दै भूकम्प इन्जिनियरिङसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पबाट हुने क्षति न्युनीकरणमा नयाँ शिक्षा र ज्ञान प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्प इन्जिनियरिङ अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढ्दै गइरहेको बताउँदै उहाँले यस सँगसँगै यो विषयले महत्व पनि पाउँदै गएको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षिकाहरु नवराज बुढाथोकी र मन्दिरा भण्डारीले पनि बोल्नुभएको थियो ।
भूकम्प इन्जिनियरिङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका मुख्य वक्ताको रुपमा नेपालका प्रो.डा. सुदर्शनराज तिवारी, भारतका प्रो.डा. टी.के. दत्त, प्रो.डा. ए.के. जैन, प्रो.डा. के.एन. झा, प्रो.डा. एस.डी. भारती, नेपालका प्रो.डा. राजेश ढकाल, जापानका प्रो.डा. सुसुमो कोनो, बेलायतका प्रो.डा. हम्र्बटो बरुण र इटालीका प्रो जोर्जिया ग्यार्डिना रहेका छन् ।
सम्मेलनमा चीन, जापान, बेलायत, इटाली, भारत र नेपाललगायतका देशका सहभागी र प्रस्तुतकर्ताहरु रहेका छन् ।













