भक्तपुर नगरपालिकाका कर्मचारीहरुबीच भक्तपुर काण्ड विषयक प्रवचन

भक्तपुर नगरपालिकाका कर्मचारीहरुबीच भक्तपुर काण्ड विषयक प्रवचन
२०७८ भदौ १६ गते, बुधबार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको बीचमा गएर सेवा गर्ने र श्रमिक जनतालाई पुँजीवादी विचारबाट जोगाउने नीति नै लेनिनवादी नीति भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नपा एकाई समितिको आयोजनामा ‘भक्तपुर काण्ड र वर्तमान समसामयिक राजनैतिक विषय’ मा भएको प्रवचन कार्यक्रम बोल्नुहँदै उहाँले कर्मचारीहरुलाई पुँजीवादी प्रवृत्तिबाट टाढा रहनुपर्ने र कर्मचारीहरु जनताको निःस्वार्थ सेवा गर्ने भावनाबाट प्रेरित हुनुपर्ने बताउनुभयो ।


नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुर काण्डको भूमिकाबारे प्रष्ट पार्नुहुँदै अध्यक्ष बिजुक्छेँले पञ्चायती शासकहरुबाट भएका दमन, षड्यन्त्र अगाडि नेमकिपाका नेता कार्यकर्ता कहिल्यै नझुकेको बताउनुभयो ।
शासक दलहरुले नेमकिपाका कार्यकर्ताहरुलाई अनेक लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम गरिरहेको बताउनुहुँदै उहाँले राजनीतिक कार्यकर्ता तथा कर्मचारीहरु राजनीतिक अडानमा बस्नुपर्छ भन्नुभयो ।
कर्मचारीहरुले आफ्नो स्तरवृद्धिमा ध्यान दिनुपर्ने, समयसापेक्ष तालिमहरु लिनुपर्ने र नयाँ नयाँ विषयहरुको अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक सुरक्षाको आन्दोलन, भारतले सुस्तामा गरेको अतिक्रमणको विरोधलगायतका गतिविधि गरी नेमकिपाले देश र जनताको पक्षमा आवाज उठाउँदै आइरहेको बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर काण्डलाई पञ्चायती सरकारको असफल राजनीतिक षड्यन्त्रको रुपमा चित्रण गर्नुभयो ।
नेमकिपाले प्रतिक्रियावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार पञ्चायतका हरेक निर्वाचनलाई उपयोग गर्दै अगाडि बढेको स्मरण गर्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरुमा इमानदारिता र अनुशासनका साथै जनताको निःस्वार्थ सेवा गर्ने भावना हुनुपर्र्नेमा जोड दिनुभयो ।
शासक दलहरुले आफ्नो शासन टिकाउन अनेक किसिमका षड्यन्त्रहरु गरिरहनेतर्फ चनाखो हुनुपर्ने बताउनुहुँदै उहाँले नेपाल सरकारले जारी गरेको अध्यादेशले राजनीतिक पार्टीहरुको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपा विचार र सिद्धान्तमा दृढ पार्टी भएकै कारण नेमकिपाविरुद्धको षड्यन्त्र सफल हुन नसकेको बताउनुभयो ।
भक्तपुर काण्डले सचेत र संगठित पार्न कार्यकर्ताहरुलाई पाठ सिकाएको बताउनुहुँदै उहाँले कर्मचारीहरुले सुसंस्कृत र सभ्य व्यवहारले नगरबासीहरुको सेवा गर्न अभिप्रेरित गर्नुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले भक्तपुर काण्डमा भक्तपुरबासीहरुको अदम्य साहस, योगदान उल्लेखनीय भएको बताउनुहुँदै नयाँ पुस्तालाई यसले दिएको सन्देशबारे सुसूचित गर्दै लानु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डमा कर्मचारीहरुलाई जाली मुद्दामा फसाउन अनेक जालझेल गरेको बताउनुहुँदै भक्तपुर काण्डका सिलसिला अझ दोहोरिनेसक्नेतर्फ सचेत पार्नुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुरका सदस्य गणेशलाल फोँजुले स्वागत गर्नुभएको थियो भने सदस्य विकास प्रजापतिले पनि बोलनुभएको थियो ।