लक डाउनमा पनि पाँच तल्ले (ङाता पोल) मन्दिरको पुन: जिर्णोद्धार हुँदै

भक्तपुर, बैशाख १२ गते
लक डाउन सुरु भएसँगै रोकिएको भक्तपुरको विश्व प्रसिद्ध पाँच तल्ले (ङाता पोल) मन्दिरको जुर्णोद्धार कार्य पुनः सुरु भएको छ । बर्षातको समय सुरु हुनु अगाबै जिर्णोद्धार पूरा गर्न नसके विश्व सम्पदामा सूचिकृत ऐतिहासिक पाँच तल्ले मन्दिर जिर्ण हुने भएकाले लक डाउनको समयमै जिर्णोद्धारका कार्य गर्नुपरेको पाँच तल्ले मन्दिर जिर्णोद्धार उपभोक्ता समितिले जनाएको छ । जिल्ला प्रसाशन कार्यालयसँगको समन्वयमा भक्तपुर नगरपालिकाले बैशाख ६ गते देखि लक डाउनको अवधिमा पनि जिर्णोद्धार सुरु गरेका हुन । चैत्र ११ गतेबाट रोकिएको सो जिर्णोद्धार २६ दिनको लक डाउन पछि पुनः सुरु गरेको हो । करिव एक महिनासम्म जिर्णोद्धारका काम रोक्नुपर्दा र लक डाउनमा जिर्णोद्धार कार्य गर्न सहज नभएकाले पनि अगामी असार भित्र सम्पन्न हुनेमा भने गाह्रो हुन सक्छ ।


भूकम्प गएको ४ वर्षपछि गत मसिरबाट सुरु गरेको सो मन्दिर भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट जिर्णोद्धार थालिएको हो । जिर्णोद्धारका लागि रु. ६५ लाख लागत इटिमेट गरिएको छ । सुरुमा मर्मत सम्भार मात्र गर्ने गरी भएको सो जिर्णोद्धारकाक्रममा सम्पदा विद्धहरुले गरेको थप अध्ययन अनुसन्धान पश्चात मन्दिरको पाँचौ तल्ला पूर्णरुपले भत्काएर निर्माण गर्ने गरी काम अगाडी बढाएको छ । १९९० सालको महाभूकम्पबाट पाँचौ तल्ला भत्किएको सो मन्दिर २०५६ सालमा पनि जिर्णोद्धार भएकाले विगत तीन सय वर्ष देखि भक्तपुरको ऐतिहासिक र साँस्कृतिक सम्पदाको अतुलनीय धरोहरको रुपमा उभिरहेको छ ।