नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान

नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई एक लाख रुपैयाँसहित सम्मान
भक्तपुर — बागमती प्रदेश सरकारले भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको नवदुर्गा देवगण जात्राको संरक्षण, संवर्द्धन तथा निरन्तरतामा योगदान पुर्याएको भन्दै नवदुर्गा देवगण जात्रा तथा गुठी व्यवस्थापन संस्थालाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ। बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयद्वारा प्रदान गरिएको सम्मानपत्रमा भक्तपुर जिल्लाको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक पहिचानका रूपमा रहेको नवदुर्गा देवगण जात्राले परम्परागत जीवन्त सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख छ। नेपालकै लामो समयसम्म सञ्चालन हुने जीवन्त परम्परामध्ये एक मानिने नवदुर्गा देवगण जात्राको निरन्तरता, संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा सञ्चालनमा संस्थाले पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो। सम्मानपत्रमा भक्तपुरको मौलिक कला, संस्कृति, धार्मिक आस्था, परम्परा तथा सामुदायिक एकतालाई जीवन्त राख्दै ऐतिहासिक एवं सांस्कृतिक जात्राको संरक्षण र निरन्तरताका लागि सम्बन्धित पक्षको सक्रियता र समर्पण अझ सुदृढ हुँदै जाओस् भन्ने शुभकामनासमेत व्यक्त गरिएको छ। सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापति तथा उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयका प्रमुख रामप्रसाद कुस्मालगायतको उपस्थिति रहेको विवरण प्राप्त भएको छ। नवदुर्गा देवगण जात्रा भक्तपुरको धार्मिक तथा सांस्कृतिक जीवनसँग गहिरो रूपमा जोडिएको परम्परा हो। पुस्तौँदेखि चल्दै आएको यस जात्राको संरक्षणले स्थानीय मौलिक पहिचान, सांस्कृतिक सम्पदा र परम्परागत ज्ञानलाई भावी पुस्तासम्म हस्तान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।