भक्तपुर नगरका कृषक परिवारलाई निःशुल्क धानको बीउ बितरण

भक्रपुर, बैशाख १२ गते
लक डाउनको समयमा भक्तपुर नगरका ५९०८ कृषक परिवारका लागि आज धानको बीउ निःशुल्क वितरण गरेको छ । १० हजार भन्दा बढी कृषक परिवार रहेको भक्तपुर नगरमा शुक्रबार एक्कै दिन आधि कृषक परिवारलाई एक, एक पाठी धानको बीउ वितरण गरेको हो । कतिपय वडामा वडा कार्यालयबाट त कतिपय वडामा स्वयंसेवकहरु परिचालन गर्दै टोल टोल, चोक चोकसम्म पुगेर बीउ वितरण गरेको हो । बेर्ना लाउने समय नजिक आएसँगै कृषकहरुले धानको बीउ जोह गर्नेक्रममा भक्तपुर नगरपालिकाको कृषि समितिबाट खुमल ११ जातको धानको बीउ निःशुल्क पाएको छ । हरेक वर्ष यसै गरी धानको बीउ बितरण थालेको तीन वर्ष भएको जनप्रतिनिधी रविन्द्र ज्याख्वले जनाएको छ । धानको बीउ वितरणका लागि बिगत ३ दिन देखि कृषकको घर घरसम्म पुगेर विवरण संकलन गरेको उल्लेख गर्दै विवतरणमा आफ्नो नाम छुटेको भए सम्बन्धि वडा कार्यालयमा सम्पर्क राख्न जनप्रतिनिधी ज्याख्वले अनुरोध गर्नु भयो । उहाँले प्रत्येक वडामा सालाखाला १ हजार कृषक परिवारलाई धानको बीउ बितरणको व्यवस्था गरेको जनाएको छ । कोरना भाइरसको जोखिम र लक डाउनको समयमा यसपालि धानको बीउ बितरण गरेर भक्तपुर नगरपालिकाले कृषकहरुलाई जग्गा खालि नराखि कृषी उत्पादन वृद्धिको लागि समेत अनुरोध गर्दै आएको उहाँले बताउनु भयो ।
भनपा १०का वडाध्यक्ष लक्ष्मिप्रसाद ह्यौमिखाले एकै दिन नगरभरीका कृषक परिवारका लागि धानको बीउ बितरण गर्ने क्रममा आफ्नो वडामा आज एकै दिन करिव ४ सय कृषक परिवारकालागि ४ सय पाठी धानको बीउ बितरण गरेको जानकारी दिनु भयो । बाँकी वा छुटेका कृषकहरुलाई आईतबार बितरणको व्यबस्था गर्ने उहाँले बताउनु भयो ।


भनपा ९का कृषक अगुवा नहकुल प्रजापतिले स्वयंसेवकको रुपमा वडाका कृषकहरुको टोलटोलमा पुगेर बीउ बितरणमा भुमिका खेलेको बताउनु भयो । जनप्रतिनिधी इन्द्रबहादुर प्याठले खुमल ११ धानको बीउ चाइनीज हाइब्रित धान जति धान नफल्ने भए पनि कृषकहरुले मन पराएको बताए । हाइब्रित धानबाट बीउ लिन नसकिने सधै किनु पर्ने तर यसको बीउ लिन सकिने भएकाले कृषकहरुले मन पराएको जनाए ।
भक्तपुर नगरपालिकाले कृषकको घर घरसम्म स्वयंसेवक परीचालन गरी बीउ वितरणको लागि विवरण संकलन गरे पछि आज सजिल्लै बीउ पाउन सकेको कृषकहरुले जनाए । एक पाठी धानको बीउले एक रोपनी खेतमा रोपाइ गर्न पुग्ने बेर्ना हुने कृषकहरुको भनाई छ ।