भक्तपुरमा नवनिर्मित ‘बौद्ध समकृत थेरवाद बुद्ध विहार’ को उद्घाटन तथा दाता सम्मान कार्यक्रम सम्पन्न

भक्तपुरमा नवनिर्मित ‘बौद्ध समकृत थेरवाद बुद्ध विहार’ को उद्घाटन तथा दाता सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर — भक्तपुरको कुथुवहीस्थित नवनिर्मित ‘बौद्ध समकृत थेरवाद बुद्ध विहार’ को औपचारिक उद्घाटन (उलेज्याः ज्याझ्वः) तथा दाताहरूलाई सुभाय्–पौ (प्रशंसापत्र) प्रदान गर्ने कार्यक्रम आज सम्पन्न भएको छ । कुथुबहि परिसरमा आज आयोजित विशेष समारोह नेपालका संघनायक पूज्य भिक्षु बोधिसेन महास्थविरको प्रमुख आतिथ्यता रहेको थियो। बौद्ध धर्मको प्रचार–प्रसार गर्दै समाजलाई कुरीति, कुसंस्कार र अन्धविश्वासबाट मुक्त गर्ने उद्देश्यले स्थापना भएको बौद्ध संघ भक्तपुरको पहलमा विहार निर्माण कार्य सम्पन्न गरिएको हो । कुथुवही भगवान स्थान संरक्षण तथा विकास संस्थाको स्वीकृत नक्साअनुसार २०८१ साल वैशाख १५ गते शिलान्यास भई नेवाः मौलिक कलाकृति झल्किने ऐतिहासिक थेरवाद बुद्ध विहारको निर्माण पूरा भएको आयोजकले जनाएको छ। थेरवाद बुद्ध विहार निर्माण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विहार निर्माणमा पु¥याएको योगदानको कदरस्वरूप धन्यवाद पत्र (सुभाय्–पौ) प्रदान गरिएको थियो । साथै, कार्यक्रममा विहार निर्माणको प्रगति विवरण प्रस्तुत गरिनुका साथै दिवंगत अग्रजहरूको गुणानुस्मरणमा दीप प्रज्वलन समेत गरिएको थियो।
समारोहमा बौद्ध संघ भक्तपुरका कार्यवाहक अध्यक्ष संघरत्न शाक्य, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु विशाल धम्मशोभन महास्थविर, भिक्षु कौण्डण्य महास्थविर, कुदुवही भगवान स्थान संरक्षण तथा विकास संस्थाका अध्यक्ष रविकिरण वज्राचार्य, प्रा. सिद्धिरत्न शाक्य, कार्यक्रम संयोजक शाक्यान शाक्य लगायत विभिन्न विशिष्ट व्यक्तित्व एवं दाताहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य बौद्ध संघ भक्तपुरका सचिव सुगतरत्न वज्राचार्यले व्यक्त गर्नुभएको थियो।