बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा समाजसेवी बीच भेटघाट कार्यक्रम

मिति २०८३ श्रावण ३१ गते आइतवार, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव, प्रेम सुवालको प्रमुख आतिथ्यतामा बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा समाजसेवी बीच भेटघाट कार्यक्रम सम्पन्न भयो ।

प्रा.वि. इन्चार्ज विष्णुप्रसाद दुमरूले सञ्चालन गर्नु भएकाे उक्त कार्यक्रममा कक्षा ११ र १२ का इन्चार्ज पुनेन्द्र प्रसाद कुसीले विद्यालयले सञ्चालन गर्दै अाएका शैक्षिक कार्यक्रम तथा उपलब्धिहरु, भौतिक उपलब्धता तथा व्यवस्थापन सँगै आगामी योजनाहरु बारे प्रस्तुती राख्नु भयो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक राजकुमार ह्यौंमिखाले स्वागत गर्नु भएको थियो भने समग्रमा विद्यालयको शैक्षिक अवस्थाको बारेमा मा.वि. तह इन्चार्ज राजकुमार निरौलाले जानकारी गराउनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविलाल प्रधानले विद्यालयको वर्तमान अवस्था, समाजबाट विद्यालयले गरेका अपेक्षा, सहयोग तथा समन्वय र विद्यालयको भावी योजनाहरुबारे स्पष्ट पार्नुभयो । त्यस्तै अतिथि विद्यालयका संस्थापक प्रधानाध्यापक बालमुकुन्द बासुकलाले विद्यालयलको विगत र वर्तमान बारे आफ्नो अनुभव सुनाउनु हुँदै त्याग र समर्पणले मात्र संस्थालाई प्रगति पथमा लग्न सकिने विचार व्यक्त गर्नुभयो ।आफ्नो गीत प्रस्तुती सँगै अतिरिक्त क्रियाकलाप संयोजक रामहरी ताम्राकारले विद्यालयलले सञ्चालन गर्दै आएका विविध क्रियाकलापहरुले जानकारी गराउनुभयो । अविचलित हुँदै अगाडी बढ्न सकेको खण्डमा सफलता हासिल गर्न कठिन नहुने भन्नु हुँदै शिक्षक जस्तो गरिमामय, सम्मननीय र आत्मसन्तुष्ट हुनसकिने पेशामा आत्मगौरब मान्नु पर्ने कुरा शिक्षाविद विश्वमोहन जोशी रराख्नुभयो ।

अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेश सांसद सुरेन्द्रराज गोसाइले कुनै पेशामा डुबेर लाग्न सक्नु नै असल र सफल व्यक्तिकाे पहिचान हुने धारणा राख्नु हुँदै असल बानीको सुरुवात शिक्षक बाटै गर्नु पर्ने विचार व्यक्त गर्नुभयो । विद्यालयले उपलब्ध स्रोत र साधनहरुको व्यवस्थित सदुपयोग गर्दै विद्यार्थी, समाज र देशको निम्ति असल अभ्यासहरु गर्दै जानुपर्ने र अझै प्रगतिको पथमा अगाडी बढ्न शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव, प्रेम सुवालले समाज र देशको निम्ति योगदान पु¥याउने असल र दक्ष नागरिक निमार्णमा विद्यालयको महत्वपूर्ण भूमिका रहने कुरा स्मरण गराउनुभयो ।

कार्यक्रमकाे अन्तमा सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हरिप्रसाद बासुकलाले सम्पूर्णमा धन्यवाद सहित सभा विसर्जन गर्नुभयाे ।