समुदाय जोड्ने परम्परागत अभियान : स्वयम्भू भ्वय् कार्यक्रम

समुदाय जोड्ने परम्परागत अभियान : स्वयम्भू भ्वय् कार्यक्रम
फागुन २४, केके मानन्धर
केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको धरानदेखि पश्चिमको नेपालगन्जसम्म सघन बसोबास गर्दै आएका मानन्धर समुदायलाई समेटेर कार्यक्रम गर्दैै आएको छ । हजारौंको संख्यामा सहभागी हुने मानन्धरहरुलाई भोज खुवाउने जिम्मेवारी यो वर्ष काठमाडौंस्थित तँलाछि टोलले लिएको हो । आगामी वर्षको लागि चस्वांद्वँ मानन्धर सनाःगु खलःलाई भ्वय् कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।


‘स्वयम्भू भ्वय् कार्यक्रम आयोजना गर्नु सजिलो छैन । हामीले भुइख्यःमा भोज व्यवस्थापनको लागि मात्र थुप्रै स्वयंसेवीहरु परिचालन गरेका छौं ।’ संघका कोषाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । ‘हामीले आजको विशेष दिनमा भोज मात्र खुवाउने हैन बरु समुदायलाई आर्थिक पाटोसँग जोड्नको लागि विभिन्न व्यावसायिक र वित्तीय संस्थाहरुको प्रदर्शनी स्थल पनि राख्न दिन्छौं । सांस्कृतिक र औपचारिक कार्यक्रम पनि हुन्छ । त्यसैले महिनौं अघिदेखि परामर्श परिषद्को बैठक बसेर टोलबासीहरुको सहयोगमा कार्यक्रमको लागि तयारी थाल्नुपर्छ ।’ मानन्धरले बताउनुभयो ।