सिद्धि मेमोरियल भक्तपुर एफ.सी.द्वारा खेलाडी सम्मानित र शुभकामना आदानप्रदान

सिद्धि मेमोरियल भक्तपुर एफ.सी.द्वारा खेलाडी सम्मानित र शुभकामना आदानप्रदान
भक्तपुर,
खेलकूद विकासकालागि स्थानीय टिम क्लबहरुको सक्रियता अपरिहार्य रहेको भन्दै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्थानीय खेलकूद क्वल, समितिहरुलाई सवल बनाउनेमा परिषद्को ध्यानकेन्द्रीत रहेको जनाएको छ । सिद्धि मेमोरियल भक्तपुर एफ.सीले आज तिहार पर्वको शुभकामना आदानप्रदान तथा खेलाडी सम्मान कार्यक्रमको अवसरमा सदस्य सचिव घिसिंङले सो कुरा बताउँदै भक्तपुरको खेल विकासकालागि महेश्वरी खेलमैदान निर्माण कार्यको निष्कर्णमा पुग्न आफू तयार रहेको जनाएको छ । भक्तपुर नगरपालिकाबाट पनि खेलकूद कार्यक्रममा निम्तो आउने गरेपनि आउन नसकेको उल्लेख गर्दै भक्तपुरको खेल विकासकालागि आवश्यक भूमिका खेल्न तयार रहेको जनाए ।


सिद्धिस्मृति प्रतिष्ठानका अध्यक्ष एवं सिद्धि मेमोरियल भक्तपुर एफ.सी.का संरक्षक श्यामसुन्दर धौभडेलको सभापतित्वमा आयोजित सो कार्यक्रममा मष्ट डिसिप्लिंङ प्लेयरमा समिप शाही, ग्रास रुट इमर्जिङ प्लेयरमा सौरभ सिल्पकार, ग्रास रुट रुकि अफ दि यरमा सम्रात रञ्जितकार र भक्तपुर एफसी एकेडेमी प्लेयर अफ दि यरमा सेलेस्त त्वायनावासुलाई प्रमुख अतिथी घिसिङबाट पुरस्कृत गरेको थियो भने विशिष्ट योगदान गर्ने महानुभवहरुलाई सम्मानित तथा जर्सि र प्रमाण पत्र वितरण गरेको थियो ।


कार्यक्रममा संरक्षक धौभडेलले विश्व जनमानसले नेता, मन्त्री, प्रधानमन्त्रीलाई नचिने पनि फुटवलका खेलाडीलाई चिने गरेको चर्चा गर्दै खेलमा हार जित भन्दा पनि उत्कृष्ठ खेल प्रस्तुती र खेल विकास महत्वपूर्ण हुने बताउनु भयो । उहाँले सिद्धिको स्मृतिमा चलाएको अभियान अन्तर्गत खेलकूद क्षेत्र पनि रहेकाले खेल र खेलाडीको विकासकालागि सिद्धिस्मृति प्रतिष्ठान क्रियाशिल रहेको बताए ।
कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष विकास थापा, समाजसेवी श्री भक्त राजभण्डारी सहितका अतिथीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।