धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा मोबाइल लुटपाट गर्ने चार जनालाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ।
मिति २०८३/०६/२० गते जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित अनन्त लिङ्गेश्वर खड्का गाउँमा बा २ ज ८६४२ नम्बरको ट्याक्सी चालकलाई खुँडा र चुप्पीजस्ता धारीलो हतियार देखाई नगद तथा मोबाइल लुटपाट गरी फरार भएका व्यक्तिहरूलाई प्रहरी प्रभाग दधिकोट भक्तपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा: १. जिल्ला दोलखा, वैतेश्वर गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु बस्ने १९ वर्षीय सौरभ मगर, २. जिल्ला काठमाडौँ, कीर्तिपुर नगरपालिका वडा नं. ६ चारघरे स्थायी घर भएका ३० वर्षीय निल कुमार बस्नेत, ३. जिल्ला दोलखा, कालिञ्चोक गाउँपालिका वडा नं. ४ घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु बस्ने २० वर्षीय असिम गजमेर, र ४. जिल्ला रामेछाप, मन्थली नगरपालिका वडा नं. १ स्थायी घर भई हाल भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट बस्ने १९ वर्षीय नविन रहेका छन्।
पक्राउ परेका उनीहरूलाई मिति २०८३/०६/२१ गते डाँका चोरी मुद्दामा सम्मानित जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ।













