भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने

भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने

भक्तपुर

नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने भएको छ। औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले भक्तपुर नगरपालिका वडा नं.-१ स्थित सल्लाघारी खुल्ला चौरमा असोज २१ गतेदेखि असोज ३० गतेसम्म १० दिने मेला सञ्चालन गर्न लागेको हो।

प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मेलाका लागि आवश्यक सबै प्रक्रिया पुरा गरी स्टल निर्माण लगायतका भौतिक तयारी तीव्र पारिएको छ। महोत्सवमा ५० भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ स्थानीय व्यापारीहरूलाई न्यूनतम शुल्कमा स्टल उपलब्ध गराइने प्रतिष्ठानले जनाएको छ।

मेलाका मुख्य आकर्षणहरू:

  • दैनिक उपभोग्य वस्तुहरू: लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता-चप्पल, कृषि औजार तथा हस्तकलाका सामग्रीहरू विशेष छुटसहित बिक्रीका लागि राखिने।
  • मनोरञ्जन र खेलकुद: बालउद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, वाटर वल्भ, मिकी माउस, ट्र्याम्पोलिन र स्कर्पियो जस्ता मनोरञ्जनात्मक आकर्षणहरू रहने।
  • सांस्कृतिक र सांगीतिक प्रस्तुति: राष्ट्रिय तथा स्थानीय कलाकारहरूको हास्यव्यङ्ग्य, गीत गायन, दैनिक खुल्ला नृत्य प्रतियोगिताका साथै शनिबार विशेष सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ। यसैगरी के.डि.श्री डान्स कल्चर एकेडेमी प्रा.लि. भक्तपुरको विशेष प्रस्तुति समेत रहने जनाइएको छ।

प्रवेश शुल्क र सुविधा: आयोजकका अनुसार मेलामा सर्वसाधारणका लागि रु. १०० र विद्यार्थीहरूका लागि रु. ७० प्रवेश शुल्क निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको महोत्सवका संयोजक संगम लामाले जानकारी दिनुभयो।