साधारण सभा सम्वन्धी विस्तारित बैठक सम्पन्न ।
भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को २७औँ वार्षिक साधारण सभाको विस्तारित बैठक २०८३ साल असोज ३ गते शनिबारका दिन भक्तपुरको बोलाछमा रहेको तारा माध्यमिक विद्यालयमा अध्यक्ष श्री राधेश्याम सुवालको सभापतित्वमा सम्पन्न भएको छ ।
संस्थाको वार्षिक साधारण सभा अन्तर्गत आयोजना गरिएको विस्तारित बैठकमा संस्थावाट साधारण सभामा पेश गरिने प्रस्तावहरुको वारेमा भेगिय क्षेत्रमा गइ सदस्यहरुको प्रस्तावहरु तथा सल्लाह सुझावहरु संकलन गर्ने, साधारण सभामा वोल्न नसक्ने सदस्यहरुको पनि पहुच पुर्याउने र सदस्यहरु समक्ष थप नजिकपना, आत्मियता, अपनत्व वोध गराउने र सदस्यहरुको महत्व तथा जिम्मेवारीवारे भलाकुसारी गर्ने थलोको रुपमा साधारण सभा पुर्व सदस्य साक्षर गराउने उद्देश्यले संस्थाले वार्षिक रुपमा गर्दै आएकोले यस वर्षमा तीन वटा गर्नै निर्णय मध्ये यो पहिलो विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले संस्थाको आगामी आर्थिक वर्षका लागि तय गरिएका नीति, योजना तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा थप योगदान पु¥याउने दिशामा जोड दिएको छ ।


सहभागि सदस्यहरु विच संस्थाको विगत वर्षको प्रगति, वित्तीय अवस्था तथा आगामी कार्यदिशा, समग्र गतिविधि, उपलब्धि तथा आगामी योजनाका बारेमा सदस्यहरूबीच अन्तरक्रिया गरिएको थियो । साथै, संस्थालाई थप व्यवस्थित, पारदर्शी, सदस्यकेन्द्रित तथा प्रविधिमैत्री बनाउँदै लैजाने विषयमा समेत सुझाव तथा विचारहरू आदानप्रदान गरिएको थियो ।
विस्तारित बैठक कार्यक्रममा सहभागी सदस्यहरूले संस्थाको सेवा, सुविधा तथा आगामी रणनीतिका सम्बन्धमा आफ्ना जिज्ञासा, सुझाव तथा धारणा राखेका थिए । सदस्यहरूबाट प्राप्त सुझावलाई संस्थाको आगामी कार्यक्रम तथा योजनामा समेट्दै सहकारीको संस्थागत विकास र सदस्य हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
संस्थाका अध्यक्ष राधेश्याम सुवालले संस्थाको विगतको प्रगतिलाई सदस्य, सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको सामूहिक प्रयासको परिणाम भएको बताउँदै आगामी दिनमा पनि सबै पक्षबीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सदस्यहरूलाई नियमित रूपमा बचत गर्ने बानीलाई अझ प्रभावकारी बनाउन आग्रह गर्दै नियमित बचतले सदस्यको व्यक्तिगत आर्थिक सुरक्षा मात्र नभई संस्थाको वित्तीय आधारलाई समेत बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । “सहकारीको वास्तविक शक्ति सदस्य हुन् र सदस्यको विश्वास नै संस्थाको मुख्य पूँजी हो,”भन्नुभयो ।
उहाले संस्थाको ऋण लगानीलाई उत्पादनशील क्षेत्रमा केन्द्रित गर्दै ऋणको सदुपयोग तथा समयमै भुक्तानी गर्ने संस्कार विकास गर्नुपर्ने, डिजिटल तथा प्रविधिमैत्री सेवाको विस्तार, युवा तथा नयाँ पुस्तालाई सहकारी अभियानसँग जोड्दै वित्तीय साक्षरता, सीप विकास तथा उद्यमशीलता मार्फत आत्मनिर्भर बनाउनमा जोड दिन्दै विस्तारित बैठकमा सदस्यहरूबाट प्राप्त सुझाव, जिज्ञासा र प्रतिक्रियालाई संस्थाको नीति तथा कार्यक्रम निर्माणमा महत्वपूर्ण आधारका रूपमा लिइने उहाँले बताउनुभयो ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका चुनौतीलाई मध्यनजर गर्दै संस्थाले सुशासन, पारदर्शिता, जवाफदेहिता, वित्तीय अनुशासन र सदस्य हितलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको बताउनुभयो । नियामक निकायबाट जारी निर्देशन तथा मापदण्डहरूको पूर्ण पालना गर्दै संस्थागत प्रणालीलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
४६ जना स्थानीय सदस्यहरुको उपस्थितिमा भएको यस विस्तारित बैठकमा संस्थाका उपाध्यक्ष श्री बलराम प्रजापतिवाट स्वागत मन्तव्य, सचिव श्री विष्णु प्रसाद सुवालवाट साधारण सभामा पेश गर्ने प्रस्तावहरु, कोषाध्यक्ष श्री रत्नकेशरी सुखुपायोवाट साधारण सभामा पेश गर्ने वित्तिय विवरण, साथै व्यवस्थापक श्री शिवजी हाकुदुवाल, संचालक सदस्य पुनेन्द्र प्रसाद कुसी, लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बालकुष्ण नागा समेतले वोल्नु भएको थियो ।














